साउन २९, २०८१
गण्डकी : मनसुन देशको पूर्वी क्षेत्रमा भन्दा पश्चिमी क्षेत्रमा सक्रिय भएसँगै देशभरमा सबैभन्दा बढी वर्षा गण्डकी प्रदेशको पञ्चासे र लुम्लेमा मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न केन्द्रहरूमा गरेको मापन अनुसार पछिल्लो २४ घण्टामा कास्की, पर्वत र स्याङ्जाको सिमानामा रहेको पञ्चासेमा सबैभन्दा बढी वर्षा भएको छ । यो समाचार तयार पार्दासम्म पञ्चासे क्षेत्रमा एक सय ४० मिलिमिटर वर्षा भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा देशभरकै दोस्रो बढी वर्षा कास्कीको अन्नपूर्ण गाउँपालिकाको लुम्लेमा मापन गरिएको छ । नेपालकै सबैभन्दा धेरै वर्षा हुने भएकोले ‘नेपालको चेरापुञ्जी’ का रूपमा समेत परिचित त्यहाँ एक सय २९ दशमलव छ मिलिमिटर वर्षा भएको छ ।
देशभरमा तेस्रो धेरै वर्षा गुल्मीको भर्सेमा भएको मापन भएको छ। त्यहाँको केन्द्रले पछिल्लो २४ घण्टामा एक सय तीन दशमलव दुई मिलिमिटर वर्षाको मापन गरेको छ । चौथो धेरै वर्षा एक सय दशमलव छ मिलिमिटर इलामको कन्याममा रहेको चिया बगानमा भएको मौसम विज्ञान विभागले उल्लेख गरेको छ ।
देशभरको अवस्था हेर्दा गण्डकी प्रदेशका विभिन्न स्थानहरू सहित यस आसपासका क्षेत्रहरूमा धेरै वर्षा भइरहेको छ । कास्कीको रिभानमा ९७ मिलिमिटर, गोरखाको जैमिरेबारीमा ९५ दशमलव आठ मिलिमिटर, पोखरामा ९० दशमलव छ, स्याङ्जाको पञ्चमूलमा ८१ दशमलव दुई, कास्कीको घलेखर्कमा ८५ दशमलव छ मिलिमिटर, कास्कीको लामापाटनमा ७० दशमलव दुई मिलिमिटर, याम्जाकोटमा ७४ दशमलव छ मिलिमिटर, पर्वतको कुश्मामा ६७ दशमलव छ मिलिमिटर, कास्कीको छोम्रोङमा ६६ दशमलव दुई मिलिमिटर, म्याग्दीको तातोपानीमा ४३ दशमलव चार मिलिमिटर वर्षा भएको छ ।
देशभरकै बढी वर्षा गण्डकीको पञ्चासे र लुम्लेमा
साउन २९, २०८२




