बुध, जेष्ठ ६, २०८३
Wed, May 20, 2026

किसान महासङ्घको आयोजनामा कुर्घामा शुभकामना कार्यक्रम सम्पन्न

कार्तिक ९, २०८२
पर्वत : नेपाल किसान महासङ्घ पर्वतको आयोजनामा फलेवास नगरपालिका–१० कुर्घामा नेपाली चाडबाडहरूको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
आपसी भेटघाट, शुभकामना आदान प्रदान तथा नेपाल  किसान महासङ्घको केन्द्र र प्रदेशको अधिवेशनमा पर्वतबाट विभिन्न पदमा नवनिर्वाचित प्रतिनिधिहरूलाई बधाई ज्ञापन गर्नको लागि कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभाका सदस्य अर्जुनप्रसाद जोशीले जेनजीको भावना बमोजिम हरेक राजनीतिक दल र नेताहरू जनताको माझमा जानुको विकल्प नरहेको बताए । कोही पनि नेता वा दलले गरेको गलत कामका विरुद्ध प्रश्न उठाउन नसक्ने हो भने जेनजीको भावना अनुसार देशमा सुशासन स्थापना नहुने भएकोले आवश्यक ठाउँमा सबै सच्चिनुपर्ने नेता जोशीको भनाइ छ ।
सडकमा उत्रिएका जेनजी युवाहरूले राष्ट्रको सम्पत्तिमा आगजनी नगर्न र खबरदारी मात्रै गर्न आह्वान गरेको भए पनि घुसपैठ गर्नेहरूका कारण नेपालले इतिहासकै ठुलो क्षति बेहोर्नुपरेको उनको भनाई छ । नेपालमा भएका कुनै पनि आन्दोलनमा सर्वोच्च अदालत, सिंहदरबार, संसद् भवन, नेताका घर जलाउने र कुटपिट गर्न आह्वान नभएको भन्दै उनले जेनजीको पवित्र आन्दोलनमा पछाडिबाट अवस्था बिगार्नेहरूका कारण समस्या आएको नेता जोशीले बताए ।  अर्को प्रसङ्गमा बोल्दै नेता जोशीले काँग्रेस कहिले एमालेसँग त कहिले माओवादीसँग लागेको प्रश्न आएकोबारे जवाफ दिँदै त्यो राष्ट्रिय राजनीतिको आवश्यकताका आधारमा भएको बताए ।
विगतमा जसरी राजनीतिमा गठबन्धन भएको भए पनि आगामी निर्वाचनहरूमा भने काँग्रेस एक्लैले चुनाव लड्ने उनले दाबी गरे । काँग्रेसका मुद्धाहरु कमजोर नभएको र राष्ट्रियताका सवालमा बलिया रहेकोले काँग्रेसलाई एक्लै चुनाव लड्न समस्या नहुने नेता जोशीको भनाइ छ । आगामी निर्वाचनमा जसले टिकट ल्याए पनि आफू निडरतापूर्वक चुनाव प्रचारप्रसारका लागि जाने उनले सुनाए ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति शिव प्रसाद सुवेदी, सहसचिव तिलक भुसाल, महासमिति सदस्य खगेन्द्र प्रसाद तिवारी, महाधिवेशन प्रतिनिधि गंगाधर तिवारी, नेपाली काँग्रेस प्रदेश सभा ‘ख’ की उपसभापति लक्ष्मी गौडेल, नेपाली काँग्रेस फलेवास नगर कार्यसमितिका सभापति हिरामणि सापकोटा, नेपाली काँग्रेसको पर्वत काठमाडौँ सम्पर्क समितिका अध्यक्ष ओम शर्मा चपाइले पनि मन्तव्य राखे । यस्तै नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय सदस्य इन्दुप्रकाश शर्मा, वर्तमान केन्द्रीय सदस्य सुनिल शर्मा, नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य सुमन तिवारी, नेपाली काँग्रेस कुर्घाका सभापति मेघराज लम्साल लगायतको बोलेका थिए ।
नेपाल किसान महासङ्घ पर्वतका सदस्य रामचन्द्र लामिछानेको स्वागत मन्तव्यमा सुरु भएको कार्यक्रमको सञ्चालन सचिव हेम अधिकारीले गरेका थिए । महासङ्घ जिल्ला अध्यक्ष रघुनाथ गौडेलको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive