पर्वत : शिक्षा विकास तथा समन्वय इकाई पर्वतले माध्यमिक शिक्षा परीक्षालाई केन्द्रित गरेर शिक्षक र विद्यार्थीहरूसँग गरेको छलफल र अन्तरक्रिया कार्यक्रमहरूको सारांश सार्वजनिक गरेको छ ।
गत मङ्सिर १६ गतेदेखि माघ ८ गतेसम्म जिल्लाका प्रत्येक माध्यमिक विद्यालयमा पुगेर शिक्षक र विद्यार्थीहरूसँग गरिएका अन्तरक्रिया, छलफल तथा अनुगमनपछि अवस्था र सुझाव सार्वजनिक गरिएको हो । इकाई प्रमुख मतिलाल चपाइले एस.इ.ई. परीक्षामा बिद्यार्थीहरुले राम्रो नतिजा प्राप्त गर्नका लागि सुधार गर्नुपर्ने सुझावहरू सहितको प्रतिवेदन सार्वजनिक गर्दै त्यसको कार्यान्वयनको लागि विद्यालयहरूलाई अनुरोध गरेका छन् ।
आफू इकाई प्रमुख भएर आएपछि जिल्लाको परीक्षा प्रणालीमा सुधार तथा शैक्षिक गुणस्तरका लागि निकै अभ्यास गरिरहेका चपाइले जिल्लाका सबै विद्यालयको प्रत्येक कक्षाकोठामा पुगेर सुपरिवेक्षण गरेपछि सुझावहरू सहितको प्रतिवेदन सार्वजनिक गरेका हुन् । २०८२ सालको माध्यमिक शिक्षा परीक्षा लक्षित शिक्षक र विद्यार्थीबिचको छलफल र अन्तरक्रिया गरिएका विद्यालयगत र पालिकागत प्रतिवेदन तयार गरिएको र त्यसमा विद्यार्थीहरूले स्वतःस्फूर्त रूपमा प्रतिबद्धता जनाएका आधारमा विषयवस्तुहरू जस्ताको तस्तै समेटिएको इकाई प्रमुख चपाइले बताए ।
प्रतिवेदनमा सुपरीवेक्षणकर्ताहरुको तर्फबाट नेपाली विषयमा पठन सीप, लेखन सीप, सुनाई र बोलाई, अङ्ग्रेजी विषयमा सुनाई, बोलाई, पढाई र लेखाई, गणितमा जोड, घटाउ, गुणन र भाग तथा सामाजिक र विज्ञान विषयमा कक्षा एकदेखि नै व्यवहारिक सीपको धारणा अनुसार शिक्षण प्रक्रिया सञ्चालन हुनुपर्ने भनिएको छ ।
यस्तै तल्लो कक्षाबाट नै प्रत्येक विषयको धारणाको विकास गराउनुपर्ने, विद्यार्थीको नियमित उपस्थितिमा ध्यान दिनुपर्ने, शिक्षक डायरीको प्रयोग हुनुपर्ने, सकेसम्म बुक कर्नरको व्यवस्थापन हुनुपर्ने, परियोजना कार्य सञ्चालन, छलफल तथा अन्तरक्रियात्मक शिक्षण विधि, समय व्यवस्थापनमा ध्यान दिनुपर्ने भनिएको छ । यसै गरी, आर्थिक रूपमा समस्या भोगिरहेका परिवारका विद्यार्थीहरूको बारेमा स्थानीय तहले केही सोच्नुपर्ने, अधिकांश विद्यालयमा विशेषतः गणित र विज्ञान विषयमा विद्यार्थीहरूका गुनासा बढी आएकोले ती सहित अन्य विषयका शिक्षकहरू आफ्नो कर्ममा अझै गम्भीर हुनुपर्ने सुझाव पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।




