मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

पर्वत उद्योग वाणिज्य संघ ५१ वर्षमा प्रवेश

फाल्गुन १३, २०८२

पर्वत : वि.सं. २०३२ सालमा कुश्माका व्यवसायीहरूको ऐक्यबद्धताबाट सुरु भएको पर्वत उद्योग वाणिज्य सङ्घले मङ्गलवार आफ्नो ५० वर्षे यात्रा पूरा गर्दै ५१ औँ वर्षमा प्रवेश गरेको छ ।
फागुन १२ गते आफ्नो जन्मोत्सव मनाउँदै आएको सङ्घले मङ्गलवार पर्वत उद्योग वाणिज्य सङ्घको सचिवालयमा आयोजना भएको बैठकको अवसरमा जन्मोत्सवको खुसीयाली सहित स्वर्ण जयन्ती मनाएको छ । स्वर्ण जयन्तीको अवसरमा विशेष कार्यक्रमको आयोजना गर्ने तयारी रहेको भए पनि फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनको आचारसंहिता तथा सरोकारवाला व्यक्तिहरूको व्यस्तताका कारण सङ्घले सामान्य रूपमा वार्षिकोत्सव मनाएको छ । स्वर्ण वर्षको अवसरमा सङ्घले विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ ।
स्वर्ण जयन्तीको अवसरमा मङ्गलवार पर्वत उद्योग वाणिज्य सङ्घको सचिवालयमा आयोजना भएको विशेष कार्यक्रममा संस्थापकदेखि हालसम्मका विभिन्न पदाधिकारी, सदस्य तथा सङ्घका सरोकारवालाहरूबिच समीक्षा तथा छलफल कार्यक्रममा सम्पन्न भएको छ । सङ्घको आयोजनामा गत पौष ९ गतेदेखि १९ गतेसम्म कुश्मामा आयोजना भएको आठौँ पर्वत महोत्सवको समेत सन्दर्भलाई समेत जोडेर स्वर्ण जयन्तीको मुख्य दिनमा महोत्सवको समीक्षा सहित सचिवालयको तर्फबाट विभिन्न निर्णयहरू भएका छन् । कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष ठाकुर बी पौडेलले सङ्घको ५० वर्षे यात्राको बाटो तय गर्न जिम्मेवारीमा रहेर वा नरहेर अहोरात्र खटेका सबैप्रति आधार व्यक्त गरे । सङ्घले सरकारी तथा गैह्र सरकारी निकायहरूसँगको सहकार्यमा विभिन्न सामाजिक कार्यहरू समेत गरिरहेको बताउँदै उहाँले पूर्वाधार निर्माणदेखि कला, संस्कृति, मनोरञ्जन, आर्थिक गतिविधि लगायतका क्षेत्रमा सङ्घको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताए । कार्यक्रममा सङ्घको वर्तमान कार्यसमितिका पदाधिकारीहरूदेखि पूर्व पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।
सोही कार्यक्रमको अवसरमा आठौँ पर्वत महोत्सवका विविध पक्षहरूमाथि छलफल भएको छ । महोत्सवले जिल्लाको आर्थिक, पर्यटकीय, खेल, मनोरञ्जन, उद्यम, सांस्कृतिक तथा सामुदायिक क्षेत्रको प्रवद्र्धनका लागि गरेको योगदानका बारेमा वक्ताहरूले धारणा राखे । महोत्सवलाई सफल पार्नको लागि निर्माण भएका विभिन्न उपसमितिका संयोजक तथा अन्य योगदान कर्ताहरूलाई सोही अवसरमा सम्मान पत्रले सम्मान पनि गरिएको छ ।
सङ्घ स्थापना भएको ५० वर्षको अवसरमा केक काटेर हर्षबढाइँ गरिएको छ । अध्यक्ष ठाकुर बी. पौडेलले केक काटेर ५० वर्ष यात्रा वर्षमा स्वर्ण भएजस्तै काममा पनि स्वर्ण भएको बताउँदै आगामी यात्राका लागि पनि सङ्घ तयार रहेको बताए ।
स्वर्ण जयन्तीको अवसर पारेर सङ्घले कुश्माको शिवालय माध्यमिक विद्यालयमा रहेको दृष्टिविहीन स्रोत कक्षामा खाद्यान्न सहयोग पनि गरेको छ । १३ जना दृष्टिविहीन विद्यार्थीहरूले बेला बेलामा खाद्यान्न सहितका अन्य सामग्रीहरूको अभाव झेल्दै आएकोले उनीहरूलाई चामल, तेल लगायतका खाद्यान्न सहयोग गरिएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा सङ्घका वर्तमानदेखि पूर्व पदाधिकारीहरू सहित सङ्घको तर्फबाट प्रदेश र अन्य निकायमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूको पनि सहभागिता रहेको थियो ।
सामाजिक सेवाका क्षेत्रमा विभिन्न कामहरू गर्दै आइरहेको सङ्घले आफ्नो स्वर्ण जयन्तीको अवसरमा सहयोगका लागि दृष्टिविहीन विद्यार्थीहरूलाई छनोट गरेकोमा विद्यालयका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेलले सङ्घप्रति आभार व्यक्त गरे ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive