पर्वत : आउँदै गरेको फागु पूर्णिमा अनि यही बेलामा चुनावी सरगर्मी। चाडपर्व, मेला, महोत्सव लगायतका अवसरमा मानिसहरूको जमघट भएको मौका चुनावी प्रचारप्रसारका लागि उम्मेदवारहरूका लागि राम्रो अवसर हो । फेरि फागु पूर्णमामा रङ दल्ने र छ्याप्ने बहानामा बहानामा अनुशासनहीन क्रियाकलापहरू पनि उत्तिकै हुने गरेका पाइन्छन् ।
रङहरूको पर्वका चिनिने होली र अनि चुनावी सरगर्मी बढाइरहेका उम्मेदवारहरूले यही मौकालाई सद्भावमा खलबल पुग्ने गरी चुनावी प्रचारप्रसारमा नलाग्न पर्वत प्रशासनले अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलद्वारा जारी सूचनामा निर्वाचनकै सङ्घारमा रहेको फागु पूर्णिमालाई सद्भावपूर्ण रूपमा मनाउन तथा जमघटका ठुला कार्यक्रमहरूको आयोजना नगर्न अनुरोध गरिएको छ ।
होली पर्वलाई सांस्कृतिक मूल्यको संरक्षण हुने गरी सानो समूहमा पारिवारिक वातावरणमा मनाउन अनुरोध गर्दै ठुला जमघट गर्ने, जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने, दूषित पानी एवं अन्य निषेधित र हानिकारक वस्तुको प्रयोग गर्ने जस्ता गतिविधि नगर्न, सामाजिक, धार्मिक एवं राजनीतिक सद्भाव तथा निर्वाचनको वातावरणमा खलल नपु¥याउन प्रशासनले अनुरोध गरेको छ ।
‘पर्वको सांस्कृतिक मूल्यको संरक्षण हुने गरी सानो समूहमा पारिवारिक वातावरणमा मनाउन, ठुला जमघटका कार्यक्रम नगर्न, जबरजस्ती रङ्ग दल्ने, लोला हान्ने, दूषित पानी एवं अन्य निषेधित र हानिकारक वस्तुको प्रयोग जस्ता गतिविधि नगर्न, सामाजिक, धार्मिक एवं राजनीतिक सद्भाव तथा निर्वाचनको वातावरणमा खलल नपु¥याउन साथै होली पर्वलाई प्रेम र सद्भावको पर्वका रूपमा मर्यादित एवम् संयमित भई मनाउनुहुन सम्पूर्ण जिल्लावासीहरूमा हार्दिक अपिल गरिन्छ’ सूचनामा भनिएको छ ।
प्रशासनले निर्वाचनका समयमा जिल्लामा अत्यावश्यक सामाग्री र सेवाको अभाव हुन नदिनका लागि सरोकारवाला पक्षहरूसँग समन्वय गरिएको बताएको छ । तर निर्वाचनको मौका पारेर कसैले पनि प्रचलित कानुनको उल्लङ्घन गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि दिएको छ । दैनिक अत्यावश्यक वस्तुहरूको अभाव हुन नदिन, अस्वाभाविक मूल्य वृद्धि, कालो बजारी लगायतका कार्य हुन नदिन, जिल्लाभित्र यातायात तथा सवारी आवागमनलाई निर्बाध रूपमा सञ्चालन गर्नको लागि सडक सञ्जालहरूलाई चालु अवस्थामा राख, दमकल, एम्बुलेन्स, विद्युत्, खानेपानी, दूरसञ्चार, स्वास्थ्य उपचार लगायतका अत्यावश्यक सेवालाई चालु अवस्थामा राख सम्बन्धित पक्षहरूसँग समन्वय गरिएको प्रजिअ पौडेलले बताएका छन् ।
जिल्ला प्रशासनको सूचनामा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको भनिएको छ । उक्त निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय प्रशासनबाट अधिकतम प्रयास भइरहेको तथा उम्मेदवार, मतदाता, मतदान सामाग्री लगायत निर्वाचनका सबै पक्षहरूको भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको उल्लेख छ ।
प्रचलित कानुन एवं निर्वाचन आचारसंहिताको पालना गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सहयोग गर्न प्रशासनले जिल्लामा क्रियाशील सबै राजनीतिक दल, निर्वाचनमा भाग लिने उम्मेदवार, निर्वाचन व्यवस्थापनमा खटिने कर्मचारीहरू, मतदाता, निजी क्षेत्र, गैरसरकारी क्षेत्र, सञ्चार क्षेत्र एवं नागरिक समाजमा पनि अनुरोध गरेको छ ।
सद्भाव खलबलिने गरी प्रचार र भीड जम्मा नगर्न उम्मेदवारलाई प्रशासनको अनुरोध
फाल्गुन १६, २०८२




