मङ्ल, बैशाख २९, २०८३
Tue, May 12, 2026

नेपाली सेनाको आयोजनामा माझफाँटमा स्वास्थ्य शिविरको आयोजना हुने

चैत्र १५, २०८२
पर्वत : नेपाली सेनाको आयोजनामा पर्वतको जलजला गाउँपालिकामा एक दिने निःशुल्क बृहत् स्वास्थ्य शिविरको आयोजना हुने भएको छ ।
नेपाली सेनाको पर्वतमा रहेको नयाँ रणभीम गुल्मका गुल्मपति सेनानी चिरञ्जीवी सुवेदीका अनुसार यही चैतको १८ गते जलजला गाउँपालिका–४ माझफाँटमा रहेको फड्केढुङ्गा आधारभूत विद्यालयमा शिविरको आयोजना गर्न लागिएको हो । नागरिक र नेपाली सैनिकबिचको सम्बन्ध सुमधुर बनाउने सामाजिक कार्यक्रमहरू अन्तर्गत विगतदेखि नै यस्तै खालका कार्यक्रमहरूको आयोजना गर्दै आएको सेनाले दुर्गम क्षेत्रका बासिन्दालाई ध्यानमा राखेर स्वास्थ्य शिविरको आयोजना गर्न लागेको हो ।
स्थानीय सर्वसाधारणहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको शिविरमा दुर्गम, पिछडिएका, विभिन्न समस्याले उपचारको अभावमा रहेका व्यक्तिहरूले विशेषज्ञ सैनिक चिकित्सकहरूबाट स्वास्थ्य लाभ लिन सक्ने सेनानी सुवेदीले बताए ।
शिविरमा स्त्री तथा प्रसूति विशेषज्ञले महिलाको प्रजनन स्वास्थ्यमा केन्द्रित स्वास्थ्य सेवा प्रदान गर्नेछन् । जसले प्रजनन प्रणालीको शल्यक्रिया हेरचाहलाई गर्भावस्था र प्रसव व्यवस्थापन, तिनीहरूको प्रसव पूर्व हेरचाह, प्रसव, गर्भ निरोधक र क्यान्सर स्क्रिनिङ सहित व्यापक सेवाहरू प्रदान हुनेछ । यस्तै हाडजोर्नी तथा नशा रोग, दन्त रोग, छाला रोग विशेषज्ञ, उच्च रक्तचाप, मधुमेह, नाक, कान तथा घाँटी रोग, आँखा रोग सहित अन्य साधारण रोगहरूको उपचार तथा परामर्श गरिने गुल्मपति सेनानी सुवेदीले बताए ।
नेपाली सेनाले नागरिक–सैनिक सम्बन्ध अन्तर्गत पर्वतका विभिन्न स्थानहरूमा भौतिक पुनर्निर्माण तथा स्वास्थ्य शिविरहरूको आयोजना यसअगाडि पनि गरिसकेको छ । पछिल्लो पटक नयाँ रणभीम गुल्मले कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा निर्माण गरेको मन्दिर स्थानीयलाई हस्तान्तरण गरिएको थियो । नेपाली सेना अन्तर्गत पश्चिम पृतना हेड क्वार्टरको निर्देशन र नं. २३ बाहिनी अड्डा बागलुङको प्रत्यक्ष सुपरिवेक्षणमा तथा नयाँ रणभीम गुल्मको नेतृत्वमा मन्दिर निर्माण गरिएको थियो ।
यस्तै दुई वर्ष अगाडि पाको उमेरका कारण स्वास्थ्य संस्थासम्म जान समस्या भोगेका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै   फलेवास नगरपालिका–४ मुडिकुवामा स्वास्थ्य शिविर सम्पन्न भएको थियो । नागरिक–सैनिक सम्बन्धलाई थप प्रगाढ बनाउन तथा सैनिकका तर्फबाट नागरिकको स्वास्थ्य सुविधामा थप पहुँच विस्तार गर्न शिविर आयोजना गरिएको थियो ।
नेपाली सेनाले पर्वतका विभिन्न स्थानमा सामाजिक सेवाका काम गर्दै आइरहेको छ । दैवी प्रकोप तथा विपद्का वेला मात्रै नभएर पदमार्ग, मन्दिर, सार्वजनिक स्थल, परम्परागत मौलिक सम्पदा, विद्यालय, स्वास्थ्य, सरसफाइ, खानेपानी, लगायतका क्षेत्रमा पनि सेनाले संरक्षण, निर्माण र पुनः निर्माणका काम गर्दै आइरहेको छ ।
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive