शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

मासिक, वार्षिक योजना र शैक्षिक सामग्री निर्माण गरेर शिक्षणको तयारीमा शिक्षक

बैशाख १९, २०८३

पर्वत : विगतका वर्षहरूमा नयाँ शैक्षिक सत्र वैशाख २ गतेबाट सुरु हुन्थ्यो। एक हप्ताको भर्ना अभियान सँगसँगै कक्षा सञ्चालन पनि गरिएका हुन्थे। तर यस वर्ष भने शैक्षिक सत्रको ‘ओपनिङ’ नै फरक शैलीको रह्यो। वैशाख १५ गतेबाट भर्ना अभियान र २१ गतेबाट नियमित कक्षा सञ्चालन गर्न निर्देशन आएपछि अहिले विद्यालयहरू भर्ना अभियानमा जुटिरहेका छन्।
विद्यार्थीहरू २० गतेसम्म घरमै रहने भए पनि शिक्षकहरुले भने उनीहरूको सिकाई क्रियाकलापमा सहयोग पुग्ने गरी शैक्षिक सामग्री निर्माणको काम गरेका छन्। विगतका वर्षहरूमा शिक्षकले आफ्नो इच्छा, समय र आवश्यकता अनुसार शैक्षिक सामग्रीहरू निर्माण गर्ने गरेका थिए। तर यस वर्ष भने उनीहरूले शैक्षिक सत्रको अन्त्यसम्ममा आफ्नो विषयमा आवश्यक पर्ने शैक्षिक सामग्रीहरू निर्माण गरेर शिक्षणका लागि तयारी अवस्थामा रहेका छन्।
शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख मतिलाल चपाइले वैशाख २ गतेबाट नै जिल्लाका विभिन्न विद्यालयहरूमा पुगेर शिक्षकहरुले शैक्षिक सत्रका लागि गरिरहेको तयारीको बारेमा अनुगमन गरिएको बताए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिएको निर्देशनलाई कार्यान्वयन गर्नको लागि आफूले विद्यालयमा नै पुगेर शिक्षकहरूसँग अन्तरक्रिया गरेको उनको भनाई छ। नियमित रूपमा कक्षा सञ्चालन भएपछि शैक्षिक सामग्री निर्माण गर्ने तथा वार्षिक र मासिक कार्य योजना निर्माण गर्दा योजनाविहीन तरिकाले कक्षा चल्ने गरेका उनले बताए। तर यस वर्ष शिक्षकहरू १५ गतेसम्म योजना र सामग्री निर्माणमा नै व्यस्त भएको र अब शैक्षिक सामग्री र योजना सहितको शिक्षणले प्रभावकारी रूपमा कक्षा सञ्चालन हुने इकाई प्रमुख चपाइले बताए।
पर्वतको कुश्मामा रहेको नारायण माध्यमिक विद्यालयका शिक्षकहरू अब गत वर्षको तुलनामा अझ धेरै शैक्षिक सामग्रीहरू लिएर कक्षाकोठामा प्रवेश गर्ने तयारीमा छन्। उनीहरू हरेक दिन कागज, माटो, पुराना कपडा, दाउरा, बाँस, काठका टुक्रा लगायतका स्थानीय सामग्रीहरूको प्रयोगबाट केही न केही सामग्रीहरू निर्माण गरिरहेको अवस्थामा देखिए। नियमित रूपमा कक्षा सञ्चालन गर्न नपाएको भए पनि अब सञ्चालन हुने कक्षालाई प्रभावकारी बनाउनको लागि तयारी गर्न भने पूरा समय मिलेको विद्यालयका प्रधानाध्यापक प्रकाश रिजालले बताए।
‘हामीले धेरै शैक्षिक सामग्रीहरू निर्माण गरेका छौँ। विद्यार्थीहरू विद्यालयमा नआएको अवस्था भए पनि हामीले दैनिक रूपमा शैक्षिक सामग्री निर्माण गर्ने, सिकाई क्रियाकलापको योजना बनाउने लगायतका कामहरू पूरा गरेका छौँ’, उनले भने, ‘पाठ्यपुस्तक मात्रै बोकेर कक्षाकोठामा छिर्नु र शैक्षिक सामग्रीहरूसहित कक्षामा जानुको धेरै हुन्छ। विद्यार्थीहरूले थोरै समयमा र कम मिहिनेतमा नै धेरै कुरा सिक्ने मौका पाउँछन्।’
जिल्लाका लगभग सबैजसो विद्यालयहरूले यसरी नै योजना र सामाग्री निर्माणको काम पूरा गरेका छन्। वैशाखको पहिलो हप्तादेखि नै शिक्षकहरूलाई जम्मा पारेर वार्षिक परीक्षाको नतिजाको विश्लेषण, शैक्षिक सामग्री निर्माण, योजना निर्माण, इमिशमा विद्यालयका विवरण अद्यावधिक गर्ने लगायतका कामहरू यो अवधिमा गरिएको फलेवास नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण प्रसाद आचार्यले बताए। विद्यालयहरूले आफ्ना सामाजिक सञ्जालहरूमार्फत पनि यो अवधिमा गरिरहेका क्रियाकलापहरू सार्वजनिक गरिरहेका भन्दै उनले यसले शिक्षकलाई रचनात्मक बनाएको पनि धारणा राखे।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive