पर्वत : आइतबार परेको विश्व सङ्गीत दिवसको अवसरमा पर्वतमा विद्यालय स्तरीय एकल लोक गायन प्रतियोगिता सम्पन्न भएको छ ।
लोक गीतलाई विद्यार्थी तथा साना उमेरका बालबालिकाहरूलाई आकर्षित गर्नको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतको आयोजनामा प्रतियोगिता सम्पन्न गरिएको हो । कुश्मास्थित पर्वत गुरुकुल एकेडेमीको प्राङ्गणमा भएको प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयबाट सहभागिता रहेको थियो ।
प्रतियोगितामा कुश्माको कालीगण्डकी एकेडेमीका युगन पौडेल प्रथम, पर्वत गुरुकुल एकेडेमीका बचन बराइली द्वितीय, मंगलोदय मा.वि. चुवाकी सुरक्षा परियार तृतीय तथा नमुना आवासीय माध्यमिक विद्यालयकी आस्मा बसेल र राष्ट्रिय बाल शिक्षा सदनका अर्पण परियार सान्त्वना स्थानमा आएका छन् । उनीहरूले पुरस्कार स्वरूप क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक/एक हजार रुपैयाँ सहित प्रमाणपत्र पाएका छन् ।
विजेता बनेका विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि व्यवसायी तथा प्रतिष्ठानप्रति आस्थावान् रामप्रसाद जोशी सहितका अतिथिहरूले पुरस्कार वितरण गरे । सो अवसरमा बोल्दै जोशीले विद्यार्थीहरूको बाल मानसिकतामा नै लोकगीत तथा नेपाली भाषा र संस्कृतिको अभ्यास गराउने हो भने नेपालका पौराणिक कलाहरू संरक्षणमा जोड पुग्ने बताए । पाश्चात्य सङ्गीतको प्रभाव बढ्दा बालबालिकाहरूमा पनि अन्य विधाका गीतहरूमा आकर्षण रहेको बेलामा लोकदोहोरी गीत प्रतिष्ठानले गरेको प्रयास प्रशंसनीय रहेको उनको भनाई छ । कार्यक्रममा पर्वत गुरुकुल एकेडेमीका प्रिन्सिपल उज्ज्वल अधिकारी लगायतका व्यक्तिहरूले पनि शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिष्ठान पर्वतका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कार्यक्रमका संयोजक तथा प्रतिष्ठान पर्वतका उपाध्यक्ष सूदीप क्षेत्रीले गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव वसन्त बास्तोलाले गरेका थिए ।
प्रतिष्ठान पर्वतले विभिन्न अवसर तथा विशेष तिथि मितिमा जिल्लाका विभिन्न ठाउँमा पुगेर आर्थिक, भौतिक सहयोगलगायतका सामाजिक सेवाका कामहरू गर्दै आइरहेको छ । मोदीबेणीमा बस्दै आएका ज्येष्ठ नागरिकलाई सहयोग, गुप्तेश्वर बेदबेदाङ्ग पाठशालामा अध्ययनरत बटुकहरूलाई सहयोग, लगायतका धेरै कामहरू यसअघि नै प्रतिष्ठान पर्वतको आयोजनामा सम्पन्न भइसकेका छन् ।




