पर्वत : पर्वतको बिहादी गाउँपालिकाले स्थानीय जनप्रतिनिधि तथा समुदायको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वडा–वडामा क्षमता विकास तथा कानुनी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
गाउँ कार्यपालिकाको कार्यालय बिहादी–५, वहाकीठाँटीबाट प्रमुख प्रशासकीय अधिकृत धनञ्जय बास्तोलाद्वारा जारी सूचनाअनुसार गाउँपालिकाका सम्पूर्ण वडाध्यक्ष, वडा सदस्य तथा समुदायका व्यक्तिहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्न सुरु गरिएको हो । गाउँपालिकाका अनुसार कार्यक्रममा कानुनी सचेतना, क्षमता विकास, योजना तर्जुमा तथा कार्यान्वयन प्रक्रिया, संस्थागत सुदृढीकरण, सुशासन प्रवद्र्धनलगायत स्थानीय सरकारसँग सम्बन्धित विभिन्न विषयमा सहजीकरण गरिनेछ । कार्यक्रममार्फत जनप्रतिनिधि तथा स्थानीय समुदायको ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्दै विकास निर्माणका गतिविधिलाई थप प्रभावकारी र सहभागितामूलक बनाउने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रम असार १७ गतेदेखि २२ गतेसम्म प्रत्येक दिन बिहान ११ बजे सम्बन्धित वडा कार्यालयमा सञ्चालन हुनेछ । असार १७ गते वडा नं. १, १८ गते वडा नं. २, १९ गते वडा नं. ३, २० गते वडा नं. ४, २१ गते वडा नं. ५ र २२ गते वडा नं. ६ को वडा कार्यालयमा कार्यक्रम आयोजना गरिने तालिका सार्वजनिक गरिएको छ । गाउँपालिकाले सम्बन्धित सबै जनप्रतिनिधि तथा सरोकारवालालाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ ।
बिहादी गाउँपालिकाले वडा–वडामा क्षमता विकास तथा कानुनी सचेतना कार्यक्रम सञ्चालन गर्ने
असार १६, २०८३




