पर्वत : जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा पर्वत गण्डकी प्रदेश स्तरीय महिला तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।
प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशको प्रवद्र्धनमा हुन लागेको प्रतियोगितामा सहभागी हुनका लागि प्रदेशका ११ ओटै जिल्लाका खेलकुद विकास समितिहरूमा पत्राचार गरिएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष जङ्गबहादुर पुन मगर (बुद्ध)का अनुसार यही असारको १८ र १९ गते पर्वत मोदीकाली ब्याडमिन्टन सङ्घ बडागाउँ कुश्माको कभर्ड हलमा हुने प्रतियोगितामा विभिन्न ५ ओटा विधामा खेलहरू हुनेछन् ।
पुरुष डबल, महिला डबल, मिक्स डबलमा प्रथम, द्वितीय र तृतीय हुने टोलीले पुरस्कार स्वरूप क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै पुरुष एकल र महिला एकल विधामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले पुरस्कार स्वरूप क्रमशः ६ हजार, ४ हजार र २ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागी हुनेहरू असार १७ गतेभित्रमा समूह दर्ता गरी कुश्मा आइपुग्नुपर्ने, खेल १८ गते बिहान ७ बजेबाट सुरु हुने, असार १६ गतेसम्म टिम दर्ता गर्ने खेलाडीको दुर्घटना बिमामा नाम समावेश हुने अध्यक्ष पुनले बताए । प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको नाम सम्बन्धित जिल्लाको जिल्ला खेलकुद विकास समितिले सिफारिस गरेको हुनुपर्ने तथा खेलाडीको खाना, बस्न र यातायात खर्च नियमानुसार उपलब्ध गराइने पनि उनको भनाइ छ ।
पर्वतमा गण्डकी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
असार १३, २०८३




