बिहि, असार ११, २०८३
Thu, June 25, 2026

मनसुनजन्य विपद् व्यवस्थापनमा सशस्त्र प्रहरीको सक्रियता

समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचकहरूसँग अन्तरक्रिया, पूर्वतयारीमा जोड

असार ११, २०८३

पर्वत, असार ११ – मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक विपद्का घटनाहरूको प्रभावकारी व्यवस्थापन तथा पूर्वतयारीलाई थप सुदृढ बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले गण्डकी प्रदेशभरका समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीको आयोजनामा भर्चुअल माध्यमबाट सम्पन्न कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न सशस्त्र प्रहरी इकाइहरू, समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै नं. ४ मुक्तिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविण कडेलले मनसुनजन्य विपद्का चुनौतीहरूको सामना गर्न सबै सुरक्षा निकाय, स्थानीय समुदाय तथा सरोकारवाला पक्षहरूबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको बताउनुभयो। उहाँले सम्भावित बाढी, पहिरो, डुबान तथा अन्य प्राकृतिक विपद्का घटनालाई मध्यनजर गर्दै जनशक्ति, उद्धार सामग्री तथा स्रोत–साधनलाई पूर्ण तयारी अवस्थामा राख्न निर्देशन दिनुभयो।

बाहिनीपति कडेलले विपद् व्यवस्थापनमा समुदायको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै समयमै सूचना सम्प्रेषण, जोखिमयुक्त क्षेत्रको पहिचान तथा प्रारम्भिक प्रतिकार्यमा समुदाय विपद् स्वयंसेवक र विपद् सूचकहरूको योगदान प्रशंसनीय रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले सशस्त्र प्रहरी बल, नेपालको विपद् व्यवस्थापनसम्बन्धी वर्तमान तयारी, उद्धार क्षमता तथा आगामी कार्ययोजनाबारे समेत जानकारी गराउनुभएको थियो।

कार्यक्रममा मातहतका इकाइहरूलाई विपद् पूर्वतयारी, खोज तथा उद्धार कार्य, राहत समन्वय र आपत्कालीन परिचालनलाई अझ प्रभावकारी बनाउन निर्देशन दिइएको थियो। साथै, समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचकहरूलाई सम्भावित जोखिमका घटनाबारे तत्काल सूचना उपलब्ध गराई जनधनको क्षति न्यूनीकरणमा सहयोग पुर्‍याउन आग्रह गरिएको थियो।

यसैक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. २५ गण मुख्यालय चण्डिका, पर्वतमा आयोजित अन्तरक्रियामा समुदाय विपद् स्वयंसेवक तालिम प्राप्त ३० जना स्वयंसेवक तथा विपद् सूचकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा स्थानीय तहमा हुन सक्ने बाढी, पहिरो, डुबान, सडक अवरोध लगायतका विपद्का घटनामा अपनाउनुपर्ने पूर्वतयारी, सूचना व्यवस्थापन तथा उद्धार कार्यका विषयमा विस्तृत छलफल गरिएको थियो।

गणपति सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीले समुदायमा आधारित विपद् व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउँदै स्थानीय समुदाय र सुरक्षा निकायबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रमले विपद् जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा समुदायस्तरमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। मनसुनको सुरुवातसँगै आयोजित यस कार्यक्रमले गण्डकी प्रदेशमा विपद् व्यवस्थापनका लागि सुरक्षा निकाय र समुदायबीचको साझेदारीलाई थप सशक्त बनाएको सहभागीहरूको भनाइ थियो।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive