पर्वत : रोटरी क्लब अफ पर्वतको १७ औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
वर्ष २०२५/०२६ का अध्यक्ष लक्ष्मी कुमारी मेधासीले वर्ष २०२६/०२७ का अध्यक्ष डासीराम अधिकारीलाई जिम्मेवारी हस्तान्तरण गर्दै नयाँ कार्यकालका लागि पदस्थापन भएको हो । शनिवार कुश्मामा आयोजना भएको कार्यक्रममा अघिल्लो कार्यकालका पदाधिकारीले यस वर्षको कार्यकालका पदाधिकारीहरूलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गर्नुभएको हो ।
पदस्थापन कार्यक्रममा अध्यक्ष डासीराम अधिकारीलाई असिस्टेन्ट डिस्ट्रिक्ट गभर्नर टुवराज बास्तोलाले शपथ खुवाउनुभएको थियो भने अध्यक्ष अधिकारीले क्लबका पदाधिकारी तथा सदस्यहरूलाई शपथ खुवाउनुभएको थियो ।
पदभार ग्रहण गर्नुहुँदै अध्यक्ष अधिकारीले रोटरी क्लबले सामाजिक सेवाका क्षेत्रमा गरिरहेको योगदानलाई अझै प्रभावकारी बनाउने बताउनुभयो । स्वार्थभन्दा माथि सेवा भन्ने मूल नाराका साथ सामाजिक अभियानहरू चलाइरहेको क्लबले आगामी दिनमा पनि सेवाका कामहरूमा महत्त्वपूर्ण योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू बाँच्नु मात्रै नभएर अरूलाई पनि बचाउनका लागि समाजका हरेक व्यक्तिबाट केही न केही सहयोग हुनुपर्छ मान्यता रोटरीयनहरुले राख्ने गरेको भन्दै अध्यक्ष अधिकारीले सामाजिक सेवा नेपालीहरूको संस्कार र सभ्यता समेत भएको उल्लेख गर्नुभयो । अझै पनि स्वास्थ्य सेवा प्रभावकारी बनाउनुपर्ने भएकोले आफ्नो कार्यकालमा स्वास्थ्य क्षेत्रलाई पहिलो, शिक्षालाई दोस्रो र युवा तथा नेतृत्व विकासलाई तेस्रो प्राथमिकतामा राखिने उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वर्ष २०२४/०२५ का डिस्ट्रिक्ट गभर्नर विनोद कोइराला, असिस्टेन्ट डिस्ट्रिक्ट गभर्नर टुबराज बास्तोला, भवनराज बराल, चार्टर प्रेसिडेन्ट विश्वप्रकाश प्रसाईँ, असिस्टेन्ट गभर्नर जोन भी विप्लव हमाल, शिव शर्मा पौडेल, लगायतले रोटरी क्लबमार्फत समाज सेवाका विभिन्न क्रियाकलाप तथा रोटरी अभियानका बारेमा बताउनुभयो ।
अघिल्लो कार्यकाल वर्ष २०२४/०२५ का अध्यक्ष लक्ष्मी कुमारी मेधासीले आफ्नो कार्यकालमा भएका प्रगतिहरू सार्वजनिक गर्नुभयो । आफ्नो जीवनको कमाइको केही हिस्सा सामाजिक सेवाका क्षेत्रमा लगाउन पाउनु खुसीको कुरा भएको उहाँले बताउनुभयो । आफ्नो कार्यकालमा क्लबका तर्फबाट दुर्घटना परेका व्यक्तिहरूलाई सहयोग, विद्यार्थीहरूलाई सामग्री सहयोग, शिक्षकहरूलाई आइ.सी.टी प्रशिक्षण, व्यवसायीलाई सम्मान, नयाँ सदस्यता वितरण लगायतका कामहरू गरिएको मेधासीको भनाइ छ ।
क्लबका अध्यक्ष डासीराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव धनराज बी पौडेलले गर्नुभएको थियो । आगामी अध्यक्ष नेत्रनाथ पौडेलले अतिथिहरूलाई स्वागत गर्नुभएको थियो । कार्यक्रममा निवर्तमान तथा वर्तमान कार्यसमितिले विभिन्न तरिकाले सहयोग गरेकाहरूलाई सम्मान सहित गरिएको छ । यस्तै क्लबले प्रकाशन गरेको पुस्तक रोटरी भोइसको पनि लोकार्पण गरिएको छ । सोही अवसरमा क्लबले सफल व्यवसायीका रूपमा मत्स्य व्यवसायी तथा पूर्व जनप्रतिनिधि विकास तिमिल्सिनालाई सम्मान गरेको छ ।
यस्तै, बुबाआमा सम्पर्कबिहीन भएर ठूलीआमाको संरक्षण्मा रहेका दुई बालकहरु दीप्सन कुमाल र दीप कुमाललाई व्यवसायी तथा रोटरीयन शिव शर्मा पौडेलले आफ्नो जन्मदिनको अवसर पारेर झोला, कपी लगायतका स्टेशनरी तथा रोट्रयाक्ट क्ल्ब अफ पर्वत पोखराका संस्थापक अध्यक्ष सूदीप बरालले नगद छ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।
क्लबको वर्ष २०२६/०२७ को समितिमा प्रेसिडेन्ट इलेक्टमा नेत्र पौडेल, प्रेसिडेन्ट नोमिनी नारायण प्रसाद प्रसाईँ, भाइस प्रेसिडेन्टमा युधिष्ठिर भुसाल, सेक्रेटरीमा धनराज बी पौडेल, ट्रेजरमा खिममाया पाइजा गिरी, सर्जेन्ट एट आर्मसमा योगराज गिरी (बद्री), जोइन्ट सेक्रेटरीमा नवराज शर्मा, सर्भिस प्रोजेक्ट चेयरमा हिमबहादुर पौडेल, क्लब एडमिन चेयरमा अच्युत तिवारी, पब्लिक इमेज चेयरमा अशोक आचार्य, रोटरी फाउन्डेसन चेयरमा केदारनाथ आचार्य, टी.आर.एफ. कमिटी चेयरमा दामोदर पौडेल (दीपक) र इडिटरमा रामचन्द्र पौडेल (आर.सी) रहनुभएको छ ।




