बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

हरेलो पूजा गराउन कर्नालले घोक हाल्दै ६१ वर्षीय यामबहादुर

भदौ ३, २०८३

पर्वत : सोमबार मध्याह्नको समय, सिमसिम पानी परिरहेको थियो। नाग पूजा गर्ने दिनमा फलेवास नगरपालिका–३ शंकरपोखरीस्थित मैदानका ६१ वर्षीय यामबहादुर दमाई भने कर्नाल फुक्दै गरेको अवस्थामा शंकरपोखरीकै रुग्दीमा भेटिए।

मंगलबार खेतीपाती, हरियाली र प्रकृतिसँग जोडिएको कृषि तथा सांस्कृतिक पर्वका रूपमा लिइने हरेलो पूजा हुनेबारे उनले बस्तीतर्फ फर्किएर कर्नाल फुके। त्यसपछि कम्मरमा बोकेको हाते ‘माइक’ मुखमा जोड्दै भने, ‘लो है, भोलि मंगलबार हरेलो गर्नको लागि जानकारी गरिएको छ। कोरी पूजा गर्नेले कोरी पूजा गर्नुहोला। बली पूजा गर्नेले बली पूजा गर्नुहोला। हरेलो पूजामा धर्ती माताको पूजा गरिने भएको हुँदा लौ तपाईँहरूलाई जानकारी गरिएको छ है।’

सूचना प्रवाहको यो शैली देख्दा सामान्य र परम्परावादी लागे पनि यामबहादुरको जीवनमा ‘कटुवाल प्रथा’, ‘बालीघरे चलन’ र ‘कर्नालसँगको माया’ विशेष छन्। सञ्चारमा आधुनिक सीप र प्रविधिको तीव्र विकास भएसँगै लोपोन्मुख अवस्थामा रहेको ‘कटुवाल प्रथा’ लाई आफूले सकुन्जेल ज्यूँदो राख्ने यामबहादुरको चाहना छ। पुस्तौँदेखि पुस्तामा हस्तान्तरण हुँदै आएको एउटा मौलिक परम्परा पछिल्लो समयमा हराउँदै गएको भए पनि फलेवास नगरपालिकाको लगभग सबैजसो वडामा भने आफू जस्तै अरू साथीहरूले पनि गाउँका डाँडामा पुगेर कर्नाल फुक्दै हरेक सूचनाहरू सुनाउने गरेको उनले बताए।

आजभोलिको पुस्ताका सामान्य सूचना पाउनको लागि पनि ‘इन्टरनेट’ कै भर परिरहेको त्यसले बालबालिकाहरूको स्वास्थ्य र व्यवहारमा गम्भीर असर गरिरहेको बारेमा यामबहादुरलाई धेरै कुराहरू थाहा छ।

आफूले सक्ने भएपछि कर्नाल काँधमा बोकेर अहिलेसम्मको जीवन व्यतीत गरेकाले अब सकुन्जेल पनि कर्नाललाई काँधमै राख्ने उनी बताउँछन्। यसले परम्परा धान्न, परम्परागत शैलीको संरक्षण गर्न, नयाँ पुस्तामा पुरानो कला कौशल परिचित गराउन सहयोगी हुने यामबहादुरको भनाइ छ।

‘म ११ वर्षको हुने बेलामा पहिलो पटक कर्नाल बजाएर गाउँमा घोक हालेको थिएँ। मेरो जीवन यसैमा बित्यो।  गाउँमा हुने पूजा, सभा, भेलामा हामीहरूले घोक हालेर लौ है आउनुहोला भनेर मान्छे बोलाउँथ्यौँ’, यामबहादुर भन्छन्, ‘म बिहान छ बजे नै घोक हाल्दै हिँडेको हुँ। आज दिनभरमा तीन वटा वडामा घोक हालेर घर फर्किँदा साँझ नै हुन्छ। आज दुःख नगर्ने हो भने भोलिको हरेलो पूजाको खबर मान्छेले पाउँदैनन् फेरि।’

शंकरपोखरीमा रहेको स्थानीय लिमिकोटमा रहेको समितिले हरेक पूजाको बेलामा अहिले पनि घोक हाल्ने निर्णय गर्ने र वडाले पनि घोक लगाउन भन्ने गरेको उनले सुनाए। ‘लिमिकोटमा अझै पनि कटुवालले नै सुनाउने प्रथा छ। हामी हाम्रो कोटलाई मनबाटै मान्छौँ। यहाँ कोरी पूजादेखि राँगा, बोका, कुखुराको बली दिएर काटिने कुरा पनि पूजा भन्दा पहिले नै घोक हालेर खबर गर्छौँ।’

गाउँमा कोटले कुनै निर्णय गरेपछि त्यसको जानकारी समुदायसम्म पुर्‍याउने जिम्मेवारी कटुवाललाई दिइन्छ। पूजापाठदेखि अन्य महत्त्वपूर्ण सूचनासम्म गाउँलेलाई जानकारी गराउन उनीहरू कर्नाल बजाउँदै बस्ती बस्ती पुग्छन्। सोमबार भेटिएका यामबहादुर पनि यही सिलसिलामा नै भेटिएका हुन्।

वडाध्यक्षमार्फत पनि आफूहरू आ–आफ्नो क्षेत्रमा खटिने गरेको उनी बताउँछन्। तर यसको औपचारिक पारिश्रमिक भने हुँदैन। गाउँलेले आफ्नो घरमा उत्पादन भएको अन्न तथा अन्य खाद्य सामग्री दिएर कटुवालको सेवा र श्रमको सम्मान गर्ने चलन छ।

‘यसरी घोक हालेर फर्केपछि बेला बेलामा बाली उठाउने हो। एक माना चामल, सय रुपैयाँ दाम आउँछ। घरमा तरकारी, धान वा अरू जे खानेकुरा उब्जेको हुन्छ, त्यो हामीलाई दिनुहुन्छ’, उनले भने, ‘हाम्रा हजुरबा, बाहरू पनि यसरी नै बाँचे, हामीलाई पनि बचाए। अहिले हाम्रा छोरा नातिहरूले त यो गर्दैनन्। तर मेरा खुट्टा चल्नेबेलासम्म चलन छोड्दिन।’

हरेलो पर्व कृषि जीवनसँग जोडिएको मौलिक पर्व हो। पर्वतसहित आसपासका जिल्लामा खेतीपाती, वर्षा, हरियाली र अन्नबालीको समृद्धिसँग हरेलोलाई जोडेर हेर्ने गरिन्छ। खेतीपातीमा निर्भर ग्रामीण जीवनमा हरियाली खेतीपातीसँग हरेलो पर्व जोडिएको छ। खेतमा रोपाई सकेपछि अब सिचाइको लागि पर्याप्त मात्रामा वर्षा होस्, बाली राम्रोसँग सप्रियोस्, रोग–कीराले नष्ट नगरोस् र घरमा अन्नको अभाव नहोस् भन्ने कामनासहित धर्ती माताको पूजा गर्ने चलन छ।

प्रत्येक वर्ष भदौ महिनाको पहिलो मंगलबार धान खेतीमा हरेलो गरेसँगै रोपाइँ गर्नु हुँदैन भन्ने प्राचीन जनविश्वास पनि छ। यस दिन खेतमा विभिन्न अन्न मास, चामल, गहुँ, फापर, तोरी, जाँतो र ढिकीमा प्रयोग गरिने काठको टुक्रा राखेर मकैको खोस्टामा बाँधेर पोको पारी लट्ठीमा भुण्ड्याएर खेतमा गाडिदिने चलन छ।

यसो गर्दा रोपेको धानमा कटाहा नलाग्ने विश्वास रहेको कुश्मा नगरपालिका–२ खुर्कोटका कृषक महेश्वर शर्माले बताए। वर्षौँ अगाडि सबै प्रक्रिया पूरा गरेर पूजाआजा हुने गरेको भए पनि आजभोलि भने सबैले सबै कर्महरू नगर्ने गरेको उनको अनुभव छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive