पर्वत : गण्डकी प्रदेशका युवा तथा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले आफ्नो सम्पत्ति २२ तोला सुन, ४५ तोला चाँदी, ८३ तोलाको मुगाको माला रहेको र बैंकमा १० लाख रुपैयाँ मौज्दात रहेको बताएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको सम्पत्ति विवरणमा उनले २ करोड रुपैयाँ ऋण आफूले तिर्नु रहेको पनि उल्लेख गरेका छन्।
विगतमा सम्पत्ति कति छ भन्ने थाहा नभएको बताएका कारण चर्चामा आएका थिए। मन्त्री नियुक्त भएको एक महिनाभित्रै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियमअनुसार गण्डकीका सबै मन्त्रीले सम्पत्ति विवरण बुझाए पनि मनाङेले भने बुझाएका थिएनन्।
अचल सम्पत्तिअन्तर्गत प्रकाश, कृष्ण र श्याम महर्जनको संयुक्त नाममा काठमाडौँ २९ धर्मस्थलीमा क्रमशः कित्ता नम्बर २४, ६७, ७६ को जग्गा रहेको र त्यसलाई प्रतिआना ९ लाख रुपैयाँमा खरिद गरेको मनाङेले लेखेका छन्। मालती महतारासँगको संयुक्त लगानीमा चन्द्रागिरी २ मा ३ रोपनी तथा मकवानपुरको पदमपोखरीमा १ रोपनी ९ आना १० दाम संयुक्त जग्गामध्ये छोराको नाममा १५ आना जग्गा रहेको उनले बताएका छन्।
सुनचाँदीसम्बन्धी विवरणमा ०५४ सालमा १५ तोला र २०७० मा सात तोला सुन तत्कालीन मूल्यअनुसार खरिद गरी आफूसँग २२ तोला सुन रहेको मनाङेले उल्लेख गरेका छन्। २०५४ मा वैदेशिक रोजगारीबाट र २०७० मा व्यापार व्यवसायबाट कमाएको पैसाबाट सुन किनेको विवरणमा लेखिएको छ।
व्यवसायबाट २०६८ सालमा खरिद गरेको ४५ तोला चाँदी मनाङेसँग छ। उनले आफूसँग भएको मौज्दात रकम १० लाख ४९ हजार पाँच सय ३६ रुपैयाँ एभरेस्ट बैंकको पोखरा शाखामा रहेको र उक्त रकम सांसद तथा मन्त्री भएका वेला तलब भत्ताबापतको भएको उल्लेख गरेका छन्।
मनाङेले शेयर कारोबार नरहेको लेखेका छन्। ऋण लेनदेन गरेकोसम्बन्धी विवरणमा पाँचजनासँग ऋण लिएकोमा तीनजनालाई तिर्न बाँकी रहेको र दुईजनालाई भने तिरेको विवरणमा उल्लेख गरिएको छ। जसमा २०७३ सालमा कर्म गुरुङसँग ४० लाख रुपैयाँ, २०७७ सालमा रमेश रानासँग ४० लाख रुपैयाँ, २०७३ सालमा मनाङ फलफूल सप्लायर्ससँग ६० लाख ऋण लिएको उल्लेख गरिएको छ।
यसरी उनको ऋण १ करोड ४० लाख रुपैयाँ रहेको देखिएको छ भने २०७१ सालमा टीका भण्डारीलाई र २०७२ सालमा टासी नाम भएका व्यक्तिलाई २ करोड ३५ लाखका दरले ४ करोड ७० लाख ऋण तिरेको मनाङेले आफ्नो विवरणमा भरेका छन्।
घरजग्गा बाहेकको कृषि तथा पशुधनमा उनले पैतृक सम्पत्तिको रूपमा संघर्ष गाईभैंसी प्रालिमा २० वटा भैँसी र पाँचवटा गाई रहेको बताएका छन्। २०७७ सालमा त्यो कम्पनीमा ४० प्रतिशत लगानीमा रहेको उनले लेखेका छन्।
मनाङे मनाङबाट स्वतन्त्र रूपमा निर्वाचन जितेर प्रदेश सांसद बनेका हुन्। निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पालामा दुईपटक युवा तथा खेलकुदमन्त्री बनेका उनी पछिल्लोपटक पृथ्वी सुब्बाकै विपक्षी बनेर कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको गठबन्धन सरकारमा सहभागी भए। एमाले नेतृत्वको सरकारको पालामा युवा तथा खेलकुदमन्त्री बनेका उनी कांग्रेस नेतृत्वको सरकारमा पनि युवा तथा खेलकुदमन्त्री नै बनेका छन्।




