मेक्सिको पुगेका पाँच जना अफगान नागरिकलाई पुन: नेपाल फर्काइएको छ।
मंगलबार दिउँसो ३ बजे श्रीलंका हुँदै उनीहरू नेपाल फर्किएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले जानकारी दिए।
‘उनीहरू श्रीलंका हुँदै आज दिउँसो काठमाडौं आइपुगेका छन्,’ शाहीले भने,’हामीले कालिकास्थानस्थित विभागमा पठाइसकेका छौं।’
विभागले उनीहरूलाई गत आइतबार मेक्सिकोको लागि पठाएको थियो। उनीहरूसँग भिसा भएको देखिएपछि विभागले मेक्सिको पठाएको थियो।
यस्तै, ११ जनामध्ये पाँच जना एकै परिवारका सदस्य हुन्। परिवारमा श्रीमान-श्रीमती, आठ वर्षीय बालक, ११ र १७ वर्षीया बालिका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गत आइतबार काठमाडौंको सिनामंगलस्थित फेसबुक होटलबाट उनीहरूसहित ११ जनालाई पक्राउ गरेको थियो। उनीहरूलाई पक्राउ गरी ब्युरोले थप अनुसन्धान गर्न विभागमा बुझाएको थियो।
विभागले पाँच जनालाई मेक्सिको पठाए पनि अरू ६ जनाबारे कुनै निर्णय गरेको थिएन।