बिहि, फाल्गुन २८, २०८२
Thu, March 12, 2026

नारी दिवसमा एन.सी.ई. पर्वतद्धारा महिलासँग अन्तरक्रिया

फाल्गुन २४, २०७९

पर्वत : शिक्षाका लागि राष्ट्रिय अभियान (एन.सी.इ) नेपालको आयोजनामा ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लैङ्गीक विभेद र महिला अधिकारका बारमा सिसेफ नेपाल पर्वतको सिसेफ महिला समूहसँग अन्तरक्रिया कार्यक्रमको अयोजना गरिएको हो । कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले बजार क्षेत्रमा रहेका महिलाहरुको अवस्था सामान्य रहेको भए पनि ग्रामिण क्षेत्रमा रहेका महिलाहरुलाई गोबर लेटाए झैँ लोटाइएको दावी गरिन । कसैमाथि अन्याय नगरी आफ्ना अधिकारको रक्षा गर्न सकिने भएकाले महिला स्वयंले आफ्नो अस्तित्व के हो भन्ने थाहा पाउनुपर्ने उनको सुझाव राख्दै उनले आफ्ना अधिकार लिनका लागि अरु कसैलाई पनि आक्षेप लगाउने काम नगर्न सबैमा अनुरोध गरिन् । अवस्था पहिलेको जस्तो पनि रहेको भन्दै रिजालले महिला अधिकारकार कुरा गरिरहँदा पुरुषलाई टाढा सोच्ने प्रवृत्ति पनि गलत हुने बताइन् ।
कुश्मा नगरपालिका सामाजिक विकास अधिकृत डिलकुमारी शर्माले प्रथम विश्वयुद्ध हुँदा समेत विश्वका महिलाहरुले शान्तिका लागि अभियान चलाएका उल्लेख गर्दै नेपालको विकास र परिवर्तनका लागि महिलाको भूमिका कमजोर नरहेको बताईन् । महिलाको अवस्था, संबैधानिक अवस्था, कार्यान्वयन, लैंगिक अवस्थाका लगायतका विषयमा बहस भइरहेको भन्दै उनले विभिन्न क्षेत्रमा महिलालाई दिइने छुट र सुबिधाका लागि २९ वटा व्यवस्थाहरु रहेको भए पनि कार्यान्वयन भने सन्तोषजनक नदेखिएको उल्लेख गरिन । अब नीति निर्माणको तहमा पनि महिलाको सहभागिता आवश्यक हुने तथा प्रशासनिक, राजनितिक क्षेत्रमा महिलाको सहभागिता बृद्धि हुँदै जानु खुसीको कुरा भएको शर्माको भनाई छ ।
कुश्मा नगर कार्यपालिकाका सदस्य लखन सुनारले एकै प्रकारको श्रम गर्ने महिला र पुरुषलाई ज्यालामा गरिने भेदभावले पनि लैङ्गिक विभेद गरीरहेको बताए । अधिकारका नाममा घरमा बिद्रोह गरेर मात्रै पनि नहुने तथा हिँसा नै भएको छ भने सहेर बस्ने कुरा पनि नहुने उनको भनाई छ । असल घर व्यवहारको लागि सहमतिका आधारमा समन्वय गरेर हिँसाको न्यूनिकरण गरेको हुनुपर्ने उनको सुझाव छ ।
एन.सी.इ नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र पहाडी भने हिँसाबीचको तुलना गर्ने हो भने महिला पिडितहरु धेरै रहेको बताए । पुरुषलाई सबैभन्दा उच्च श्रेणीको र महिलालाई दोस्रो दर्जामा राख्ने भाष्य परिवर्तन गर्नु तथा महिलाको भन्दा पुरुषको मूल्य बढी भएको सन्दर्भलाई परिवर्तन गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ । हरेक व्यक्तिको पहिचान हुने भएकाले आमाको सम्मानका लागि पनि नारी दिवस निकै महत्वपूर्ण रहेको पहाडीले बताए । महिलालाई आधारभूत रुपमा शिक्षित गर्न नसक्दा लैङ्गिक बिभेद कायै रहने तथा पुरुषमा रहेको हैकमबादी सोचको अन्त्य नहुँदासम्म महिलाले पनि आँखामा आँखा जुधाएर कुरा गर्न सक्ने समय नआउने उनको भनाई छ ।
गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्य जगन्नाथ शर्मा भने सबै प्रकारका हिँसाको अन्त्य गर्नको लागि ‘म हिँसा सहन्न, म हिँसा गर्दिन र म हिँसा हुने वातावरण आउन दिन्न’ भन्ने मानसिकतामा रहनुपर्ने सुझाव राखे । समाजमा महिलाबाट महिलामाथि नै हुने हिँसाले पनि समस्या पारिरहेको उनको भनाई छ । समाजमा रहेको सासू र बुहारीको नातामा रहेको झगडाको अन्त्य गरेर सबैका छोरी एक दिनका बुहारी र एक दिनका सासु हुन् भन्ने मानसिकताको विकास हुनु पर्ने शर्माले बताए ।
उद्योग वाणिज्य संघ सदस्य अम्बिका शर्माले श्रीमान नगएसम्म विद्यालयमा बच्चा भर्ना गर्न नसक्नेसम्मको अवस्था समाजमा रहनुले महिलाको अवस्था कमजोर रहेको पुष्टि गरेको उल्लेख गरिन । घर भित्रैबाट महिलाले नेतृत्व लिनुका साथै घरभित्रैबाट समान दायित्व लिनका लागि पनि तयार हुनुपर्ने तर्क गरिन् । आर्थिक रुपमा कमजोर रहँदा महिलाको अवस्था झनै दयनीय बन्दै जाने भएकाले आर्थिक समृद्धीको लागि पनि महिलाको भूमिका आवश्यक हुने शर्माको भनाई छ ।
अन्तरक्रिया कार्यक्रममा बोलेकी समाजसेवी बुद्धीकुमारी श्रेष्ठले पनि पुरुषले आँसु देखाउन नसकेका कारण महिलाबाट पिडित भएर बस्नुपरेको आफूले धेरै ठाउँमा देखिरहेको बताइन् । ‘पुरुषले आँसु देखाउन सकेको छैन । महिलाहरु आफ्नो ठाउँमा बस्नुपर्छ । पुरुषले पनि आफूले भोगका अन्यायहरु बाहिर ल्याउनुपर्छ । महिलामा अनेक कुरा देखेर घरमा हिँसा भइरहेका छन्’, उनले भनिन्, ‘महिलाले आँसु झार्दा साथ उसको कुरामा विश्वास गर्ने चलनका कारण पनि पुरुषहरु चुप लाग्नुपर्ने अवस्थामा रहेका छन्। मानवले मानवलाई सम्मान गर्नुपर्छ ।’ अर्की महिला चम्पा श्रेष्ठले पनि महिलाको अधिकारका बारेमा कुरा गरिरहँदा समाजमा पुरुषहरु महिलाबाट पीडित भएको देख्नुपर्ने तर्क गरिन ।
एन.सी.इ. पर्वतका संयोजक यज्ञप्रसाद शर्माले महिलाहरु अझै पनि चुलो चौकोको घेरा भन्दा बाहिर आउन नसक्नु दुःखद पक्ष रहेको बताए । महिला अधिकारका पक्षमा भइरहेका व्यवस्थाले पहिलेको अवस्थाको तुलनामा निकै सुधार भएको भए पनि सन्तोष मानेर बस्नु समय भने नरहेको उनको भनाई छ ।
सिसेफ महिला समूहकी अध्यक्ष पवित्रा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन एन.सी.इ. पर्वतका सचिव आशिष पौडेलले गरेका थिए ।

 

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive