शुक्र, फाल्गुन २९, २०८२
Fri, March 13, 2026

पर्वतको जलजलामा सेनाले निर्माण गर्‍यो हेलिप्याड

अशोज १४, २०८०

पर्वत : बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको जोखिम रहेको तथा भौगोलिक रूपमा पनि समस्यामा रहेको जिल्लाको जलजला गाउँपालिकामा नेपाली सेनाले नागरिकमैत्री हेलिप्याड निर्माण गरेको छ।

नेपाली सेनाको नयाँ रणभीम गुल्म गोदाम ब्यारेक पर्वतका गुल्मपति सेनानी राजन पाण्डेका अनुसार नागरिक सैनिक सहकार्य अन्तर्गत विपद्, दुर्घटना लगायतका प्राकृतिक प्रकोपलाई लक्षित गर्दै जलजला गाउँपालिका–४ माझफाँट स्थित भवानीपानीको सार्वजनिक जग्गामा हेलिप्याड निर्माण गरिएको हो। ‘हेलिप्याड निर्माण कार्यले स्थानीय बासिन्दाहरूलाई लाभ हुने विश्वास सहित नागरिक–सैनिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्य अनुरूप ‘एक आर्थिक वर्ष, एक युनिटः जोडी हेलिप्याड निर्माण’ गर्ने योजना अनुसार काम गरेका हौँ,’ उनले भने, ‘वडा कार्यालयको आर्थिक श्रोत व्यवस्थापन तथा नेपाली सेनाको नयाँ रणभीम गुल्मको जनशक्ति तथा प्राविधिक सहयोगमा निर्माण भएको हेलिप्याड भदौ मसान्तमा निर्माणको काम पूरा गरिएको हो।’

करिब सात हजार बासिन्दाहरू लाभान्वित हुने गरी निर्माण भएको हेलिप्याड श्री नं. २३ बाहिनी अड्डा बागलुङका  बाहिनी पति सहायक रथी रोशन खड्काले शिलालेख अनावरण तथा समुद्घाटन गरेका छन्। सोही सहायक रथी खड्का र नयाँ रणभीम गुल्मका गुल्मपति सेनानी राजन पाण्डेले वडाध्यक्ष भरत बहादुर क्षेत्रीलाई संयुक्त रूपमा हस्तान्तरण गरेका छन्।

विपद्को बेलामा नागरिकको उद्धारका लागि सहज बनाउन सेनाले गरेको सहयोगले गाउँपालिकावासीहरूलाई निकै सहज हुने वडाध्यक्ष क्षेत्री बताउँछन्। भौगोलिक रूपमा समेत समस्यामा रहेको जलजलाका विभिन्न ठाउँहरूमा प्राकृतिक जोखिमको सम्भावना रहँदा उद्धारमा समस्या आउन सक्ने अवस्था रहेको उनको भनाइ छ। ‘विभिन्न स्थानमा पहिरोको जोखिम रहेका छन्। बर्खाको बेलामा ग्रामीण क्षेत्रमा सवारी चल्न पनि मुस्किल हुन्छ। उद्धारकर्ताहरूका सवारी नै समस्यामा हुन्छन्,’ वडाध्यक्ष क्षेत्री भन्छन्, ‘यो ठाउँमा हेलिप्याड बनेपछि अब समस्या परेको बेलामा उद्धारको समस्या हुँदैन। यहाँका नागरिकले बेलैमा गुहार पाउने भएका छन्।’

सोही अवसरमा वडाका तर्फबाट निर्माण कार्य सम्पन्न गरेकोमा नयाँ रणभीम गुल्मको योगदानको सम्मान पनि गरिएको छ। वडाध्यक्ष क्षेत्रीले गुल्मलाई कदर–पत्र प्रदान गर्दै आगामी दिनमा पनि सहकार्यको अपेक्षा रहेको बताएका छन्।

यो सँगै पर्वतमा हेलिप्याडको सङ्ख्या तीन पुगेको छ। यसअघि सशस्त्र प्रहरी बल नं. २५ चण्डिका गण कुश्मा र नेपाली सेनाको गोदाम ब्यारेकमा हेलिप्याड निर्माण भइसकेका छन्। गोदाम ब्यारेकमा रहेको हेलिप्याड भने सामान्य खालको हो। जिल्लामा स्तरीय हेलिप्याड निर्माण भएको भने यो नै पहिलो हो। सुरक्षाकर्मीहरू आफै खटेर हेलिप्याड निर्माण गर्ने भएकाले सुरक्षाकर्मीका ब्यारेकमा हेलिप्याड हुने भए पनि नागरिकलाई ध्यानमा राखेर हेलिप्याड निर्माण हुन सकेका छैनन्। आकस्मिक उद्धारको लागि हेलिप्याड आवश्यक पर्ने भए पनि यसमा स्थानीय तहहरूले भने ध्यान दिन सकेका छैनन्।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive