मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026

पर्वतमा दादुरा रुबेला खोप अभियानको प्रगति सत प्रतिशत भन्दा बढी

चैत्र २३, २०८०

पर्वत : पर्वतमा दादुरा रुबेलाको खोप अभियानको प्रगति सत प्रतिशत भन्दा बढी भएको छ।
स्वास्थ्य कार्यालय पर्वतका खोप ‘फोकल पर्सन’ तथा सूचना अधिकारी जयेन्द्रमान गुरुङका अनुसार स्वास्थ्य सेवा विभागले जिल्लाका सात ओटा स्थानीय तहमा कुल छ हजार छ सय ३८ जनालाई खोप लगाउन लक्ष्य दिएको थियो। जबकि स्वास्थ्य कार्यालयले खोप अभियानको क्रममा सात हजार एक सय ३८ जनालाई खोप लगाएको छ। जुन दिइएको लक्ष्य भन्दा पाँच सयले बढी हो।
गत फागुन १३ गतेदेखि १७ गतेसम्म पहिलो चरणमा फलेवास नगरपालिका, महाशिला गाउँपालिका, बिहादी गाउँपालिका र पैयुँ गाउँपालिकाका बालबालिकाहरूलाई खोप लगाइएको थियो भने दोस्रो चरणमा फागुन २१ गतेदेखि २६ गतेसम्म कुश्मा नगरपालिका, मोदी गाउँपालिका र जलजला गाउँपालिकामा खोप अभियान चलेको थियो।
यो खोप अभियान सुरु हुनु पूर्व स्वास्थ्य सेवा विभागले पर्वतमा आठ हजार भन्दा धेरै बालबालिकाहरूलाई दादुरा रुबेला बिरुद्धको खोप लगाउने लक्ष्य दिएको थियो। तर खोप अभियान सुरु भएसँगै लक्ष्य घटेर आएको थियो। २०७९/८० को तथ्याङ्कमा आधारित रहेर विभागले नौ महिनादेखि पाँच वर्ष उमेर समूह भित्रका आठ हजार छ सय १२ जना बालबालिकाहरूलाई खोप लगाउन भनेको थियो। तर अभियान सुरु भएपछि २०८०/८१ को तथ्याङ्कमा आधारित रहेर विभागले छ हजार छ सय ३८ बालबालिकालाई खोप लगाउन भनेको थियो।
कार्यालय प्रमुख प्रवीण शर्माका अनुसार मोदी गाउँपालिकाका आठ सय ७८, जलजला गाउँपालिकाका नौ सय ६१, कुश्मा नगरपालिकाका दुई हजार एक सय ८५, फलेवास नगरपालिकाका एक हजार एक सय ९६, महाशिला गाउँपालिकाका चार सय २०, बिहादी गाउँपालिकाका छ सय ४० जना र पैयुँ गाउँपालिकाका सात सय ४८ जनालाई दादुरा रुबेलाको खोप लगाइएको छ। जबकि विभागले ती स्थानीय तहहरूमा क्रमशः आठ सय ७८, एक हजार ५८, एक हजार नौ सय पाँच, एक हजार ६२, चार सय ३८, पाँच सय ७६ र सात सय २१ जनालाई खोप लगाउने लक्ष्य दिएको थियो।
जिल्लाका नौ महिनादेखि पाँच वर्ष मुनिको उमेर समूहका कोही पनि बालबालिकाहरू खोपबाट नछुटेको बताउँदै कार्यालय प्रमुख शर्माले खोपको प्रगति एक सय सात प्रतिशत भन्दा पनि माथि पुगेको बताए। ‘अघिल्लो आर्थिक वर्षको लक्ष्य र हामीले जिल्लामा तयार पारेको तथ्याङ्क अनुसार सात हजार एक सय ३८ जनालाई खोप लगाउनुपर्ने थियो। पछि दिइएको लक्ष्यमा छ हजार छ सय ३८ भनिएको भए पनि हामीले भने अघिल्लो लक्ष्य अनुसारकै सङ्ख्यामा खोप लगाएका छौँ’, उनले भने, ‘अझै पनि कतिपय ठाउँमा बालबालिकाहरू छुटेका त छैनन्? भनेर हामीले स्थानीय तहहरूमार्फत बालबालिकाहरूको विवरण माग्ने र छुटेका भएमा खोप दिने काम गरिरहेका छौँ।’
दादुरा रुबेलालाई सन २०१९ मा उन्मूलन गर्ने भनिएको भए पनि सन २०२३ हुँदै अन्तिम लक्ष्य सन २०२६ सम्म पुगेको छ। कतिपयमा लगातार चार÷पाँच वर्ष लगाउँदा पनि प्रतिरक्षा प्रणालीमा राम्रो विकास नभएको पाइएका र पहिले छुटेका सबैलाई लक्षित समूहमा राखिएको थियो। गण्डकी प्रदेशमा दादुरा–रुबेलाको सङ्क्रमण नदेखिएको भनेर चर्चा भइरहेको बेलामा गत माघमा तनहुँमा यसको सङ्क्रमण देखिएको थियो। एक जनाबाट १८ जनासम्ममा रोग सर्न सक्ने भएकोले खोप लगाउने कुरामा कसैले पनि हिचकिचाउन नहुने स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन्।
नियमित रूपमा लगाउनुपर्ने खोपहरू डिपिटी हेप बी हिब, पिसिभी र आइपिभी खोपहरू छुटेका बालबालिकाहरूलाई पनि यही अभियानका क्रममा खोप लगाइएको छ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive