पर्वत : चाडपर्वहरू नजिकिँदै जाँदा यात्रु तथा सवारी साधनहरूसँग सम्बन्धित विभिन्न योजना कार्यान्वयनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले कुश्माको शिवालय चोकमा यात्रु सहायता कक्ष स्थापना गरेको छ।
मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतबाट अन्य विभिन्न जिल्लामा आउजाउ गर्ने सवारीहरू कुश्मा हुँदै चल्ने भएकोले सवारीको चापलाई हेरेर शिवालय चोकमा यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङले बताए।
चाडबाडको चहलपहल बढ्दा सवारी साधनले गर्ने लापरबाही, यात्रुहरूले गर्ने लापरबाही तथा सवारी र यात्रु पक्षमा आउन सक्ने समस्या समाधानको लागि जिल्लाका चारै दिशालाई समेट्ने गरी यात्रु सहायता कक्ष स्थापना गरिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्ट, विभिन्न सुरक्षा निकाय, उद्योग वाणिज्य सङ्घका पदाधिकारी, जनप्रतिनिधि, सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी, स्थानीय क्लबका प्रतिनिधि, यातायात व्यवसायी लगायतको उपस्थितिमा यात्रु सहायता कक्ष स्थापना गरिएको ।
हिन्दुहरूको महान् चाड बडा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा सार्वजनिक तथा निजी सवारी साधनहरूमा यात्रुहरूको चापमा वृद्धि भई दुर्घटना हुने जोखिम बढी भएकाले त्यसको न्यूनीकरणमा सहायता कक्षले सक्रियताका साथ काम गर्ने ट्राफिक प्रहरी प्रमुख गुरुङले बताए। ‘चाडबाड मान्न तथा आफन्त भेट्नको लागि विदेशबाट आउनेदेखि देशमै आन्तरिक यात्रा गर्नेहरूका कारण सडक र सवारी दुवैमा अब चाप बढ्छ। यो अवस्थामा हुन सक्ने सम्भावित दुर्घटना रोकथाम गर्दै सहज र सुरक्षित आवागमनको लागि कक्षहरू स्थापना गरिएका हुन्’, उनले भने, ‘सवारीका सञ्चालक वा यात्रुका तर्फबाट एक अर्कामा समस्या बनाउने अवस्था आएमा त्यसको समाधान गर्ने, यात्रुको पिर मर्का सुनुवाइ गर्ने, ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त अवस्थामा राख्ने उद्देश्यले सहायता कक्ष बनाइएको हो।’
सवारीमा अधिकार हनन हुनुका साथै दुव्र्यवहार हुन सक्ने, बढी भाडा असुली गर्ने, खसी बोका ओसारपसारमा हुन सक्ने अवरोध, व्यस्त स्थानमा हुन सक्ने अवाञ्चिछत गतिविधि, पटका भुईँ चम्पा तथा अतीसबाजी लगायतका विस्फोटक पदार्थहरूको ओसारपसार लगायतका विषयमा पनि ट्राफिक प्रहरीले निगरानी र अनुसन्धान गर्ने छ।
चार जिल्लाका सवारी जुट्ने कुश्मामा यात्रु सहायता कक्ष स्थापना
अशोज ८, २०८२




