पर्वत : जिल्ला प्रहरी कार्यालय, पर्वतमा एकै दिन दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन् । नेपाल प्रहरीको नियमित सरुवा प्रणाली अन्तर्गत सरुवा भई आएका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजय यादवलाई स्वागत तथा पर्वतबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक जान लागेका प्रहरी नायव उपरीक्षक रविन विष्टलाई फेरि भेटौँला कार्यक्रम गरिएको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत तथा प्रशासन विभाग, कर्मचारी प्रशासन शाखामार्फत यादव मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट सरुवा भई पर्वत आएका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्वतमा आयोजना भएको एक औपचारिक कार्यक्रमका बीच प्रहरी निरीक्षक राम प्रसाद सापकोटा सहित कार्यालयका सम्पूर्ण प्रहरी कर्मचारीहरुले स्वागत गरे ।
स्वागत कार्यक्रमपश्चात् डिएसपी यादवले कार्यालयका सम्पूर्ण शाखाहरूको अवलोकन गर्दै उपस्थित प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया गरेका थिए । उनले देशको वर्तमान सुरक्षा अवस्था, प्रहरीको भूमिका, चुनौती र उत्तरदायित्वबारे चर्चा गर्दै सम्पूर्ण प्रहरीलाई उच्च मनोबलका साथ पेशागत रुपमा कार्य सम्पादन गर्न निर्देशन दिए ।
बुधबार नै डिएसपी रविन विष्ट अर्को व्यवसायिक घुम्तीको सुरुवात स्वरूप बिदाइ कार्यक्रमको आयोजना गरिएको थियो । जिल्ला प्रहरी कार्यालय, पर्वतबाट जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकमा सरुवा भएका विष्टलाई प्रहरी परिवारले मायाको चिनो प्रदान गर्दै ‘फेरी भेटौंला’ कार्यक्रममार्फत बिदाइ गरेको हो ।
कार्यक्रममा डिएसपी विष्टले पर्वतमा कार्यरत प्रहरी कर्मचारीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि जिम्मेवारीप्रति प्रतिबद्ध रहन सुझाव दिएका थिए । उनले आफ्ना अनुभवहरू साझा गर्दै प्रहरी सेवाको गरिमा र मर्यादालाई अझ उचो बनाउँदै लैजान सबैलाई प्रेरणा प्रदान गरे । कार्यक्रमहरूमा प्रहरी निरीक्षक राम प्रसाद सापकोटा सहित सम्पूर्ण प्रहरी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।
विष्टको ठाउँमा पर्वत प्रहरीको कमाण्ड सम्हाल्न आइपुगे यादव
अशोज ९, २०८२




