पर्वत : आजदेखि कुश्मा नगरपालिका स्थित सशस्त्र प्रहरीको खेलमैदानमा आयोजना भएको पहिलो खेलमा नारायण माविले पर्वत गुरुकुल एकेडमीलाई ६ विकेट र सरस्वती माविले राष्ट्रिय बाल शिक्षा सदनलाई ६ विकेटले जित्दै प्रतियोगिताको सुरुवात गरेका छन्।
आजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको पर्वत गुरुकुल एकेडमीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रन बनाउन सफल भयो। पर्वत गुरुकुल एकेडमीको लागि २६ बल खेल्दै १९ रन बनाउन सफल भएका थिए भने अन्य खेलाडीहरूले दोहोरो अङ्क ल्याउन सफल भएनन्। गुरुकुल एकेडमीलाई सस्तैमा समट्नको लागि नारायण माविका पूरन सुवेदीले ४ ओभरमा १ मेडन राख्दै १० रन दिएर ४ विकेट लिन सफल भएका थिए भने कप्तान आकल्प श्रेष्ठले ४ ओभरमा १ मिडन राख्दै ५ रन दिएर २ विकेट लिन सफल भएका थिए भने अमर तिवारी, संस्कार पौडेल र कुशल पौडेलले समान १-१ विकेट लिन सफल भएका थिए। ७४ रन को विजय लक्ष्य पछाउने क्रममा नारायण माविले १४.२ ओभरमा ४ विकेट दिएर लक्ष्य हासिल गरी ६ विकेटको जित हासिल गरेको छ। नारायण माविका लागि कप्तान अबिजित आकल्प श्रेष्ठले २५ बलमा १७ उपकप्तान अर्पित गिरीले १९ बलमा १४ रन ल्याउन सफल भएका थिए। बलिङतर्फ पर्वत गुरुकुल एकेडेमीका रोनित अधिकारी र दीक्षान्त पौडेलले समान २-२ विकेट लिन सफल भएका थिए।
उत्कृष्ट बलिङ गरेका पुरन सुवेदी म्यान अफ द म्याच घोषित भए भने सुन चाँदी व्यवसाय सङ्घ पर्वतका अध्यक्ष विनोद पोखरेलले म्यान अफ द म्याच ट्रफी प्रदान गर्नुभएको थियो।
त्यसैगरी आजको दोस्रो खेलमा राष्ट्रिय बाल शिक्षा सदनले टस जित्दै ब्याटिङ गर्ने निर्णय गरेको थियो। निर्धारित २० ओभरमा ९ विकेट घुमाउँदै १२२ रन बनाउन सफल भएको थियो। राष्ट्रिय बाल शिक्षा सदनको लागि विपिन भुषालले २२, रोहित परियारले १३ र कप्तान कृष्ण खनालले अविजित १९ रनको योगदान गरे। बलिङतर्फ सरस्वती माविका नितेश अधिकारीले ४, एरिन अधिकारी, प्रमिस अखेली र कप्तान विशाल मल्लले समान १-१ विकेट लिए। १२३ को विजय लक्ष्य पछाउने क्रममा सरस्वती माविले १३.४ ओभरमा ४ विकेट गुमाउँदै १२३ को लक्ष्य पछाएर ६ विकेटले जित हासिल गर्यो। सरस्वती माविका लागि सबिन श्रेष्ठले २४ , प्रमिस अखेलीले अविजित ४१ र एलिन अधिकारीले १३ रन बनाउन सफल भएका थिए। तर्फ राष्ट्रिय बाल शिक्षा सदनका रीतिक अधिकारी, विपिन भुसाल, कृष्ण खनाल र रोहित परियारले समान १-१ विकेट लिए।
उत्कृष्ट अलराउन्ड पर्फर्मेन्स गरेका प्रमिस अखेली म्यान अफ द म्याच घोषित भए भने पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा गण्डकी प्रादेशिक महिला क्रिकेट टिमका कोच दिपेश खत्रीले म्यान अफ द म्याच ट्रफी प्रदान गर्नुभयो।
पुष १२ देखि १९ गतेसम्म सञ्चालन हुने पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट प्रतियोगिताको उद्घाटन कुस्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले गर्नुभएको थियो। पर्वत क्रिकेट संघका अध्यक्ष रेशमबहादुर केसीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा प्रमुख अतिथि कुश्मा नगरपालिका नगरप्रमुख रामचन्द्र जोशी, जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष जङ्गबहादुर पुन, सशस्त्र प्रहरी बल नेपाल नं २५ हे क्वा चण्डीका गणपति सशस्त्र प्रहरी उपरीक्षक करण सिंह धामी, प्रदेश अस्पताल पर्वतका व्यवस्थापन समितिका अध्यक्ष याम परियार, प्याब्सन पर्वतका अध्यक्ष बिमल पौडेल, जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष राजन गुरुङ लगायतको उपस्थिति रहेको थियो।
पर्वत जिल्लाका विभिन्न १४ वटा स्कुलहरूको सहभागिता रहेको प्रतियोगिताकोमा प्रथम र द्वितीय हुनुले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
पर्वत जिल्ला इन्टर स्कुल टि-२० क्रिकेट : नारायण र सरस्वती माविको विजय सुरुवात
पुस १२, २०८२




