पर्वत : पर्वत उद्योग वाणिज्य संघ पर्वतको स्वर्ण जयन्ती वर्ष २०८२ को अवसरमा पर्वत सदरमुकाम कुश्मामा शान्ति र सद्भावका लागि आयोजित आठौँ पर्वत महोत्सव २०८२ ले रौनक ल्याएको छ ।
मूल आयोजक पर्वत उद्योग वाणिज्य संघ रहेको यस महोत्सवको मुख्य प्रायोजकको रूपमा कुश्मा बलेवा यान्त्रिक पुल प्रा.लि. रहेको छ । विगतका वर्षहरूमा जस्तै आयोजकले यस वर्ष पनि महोत्सवमा फरकपन प्रस्तुत गरेको पाइन्छ । विषेशत यस वर्ष आयोजकले देशको विषम परिवेशमा निजि क्षेत्रले भोग्नु परेको आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक परिबेसबाट सृजित वातावरणले निम्ताएको आर्थिक मन्दी, जसका कारण उद्योग तथा व्यापारको क्षेत्रमा परेको प्रभाबलाई कम गराउने प्रयास गरेको छ ।
यसका लागि निजी क्षेत्रको छाता सङ्गठनले गरेको यो महोत्सवको आयोजनाले केही हद सम्म भए पनि व्यापारी तथा उद्योगीको मनोबलमा राहत पुगी आर्थिक अवस्था चलायमान हुने विश्वास लिइएको छ भने आम मानिसमा अब बजार सहज भई पुरानो अवस्थामा आर्थिक कारोबारमा बढवा मिल्ने नै छ भने विश्वासमा रहेको देखिन्छ साथै व्यापारी तथा उद्यमीहरूमा उत्साह जागेको पनि पाइन्छ ।
२०८२ पौष ९ गतेदेखि १९ सम्म सञ्चालनमा रहने “समृद्ध पर्वत हाम्रो चाहना” भन्ने मूल नाराका साथ गण्डकी प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा आठौँ पर्वत महोत्सव–२०८२ मा स्थानीय लघु घरेलु उत्पादन र पर्यटन प्रवद्र्धनका लागि प्रचार प्रसारको महत्त्वपूर्ण माध्यम महोत्सव बनेको छ । स्वदेशी उत्पादनको प्रचार प्रसार, बजारीकरण र प्रबद्र्धनका लागि मेला तथा प्रदर्शनीको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । यस्ता प्रवद्र्धनात्मक क्रियाकलापहरूको नियमित आयोजनाबाट उत्पादित वस्तुहरूको विक्री प्रवद्र्धन, साना उद्यमीहरूलाई उत्पादन बढाउन प्रोत्साहन तथा समग्र जिल्लाको प्रवद्र्धनमा सहयोग पुग्नुको साथै मुलुकको विकासमा ठोस योगदान पु¥याउन सहयोग पुग्ने नै छ ।

हाल देशभर मेला महोत्सवहरू आयोजना गर्ने लहरसँगै गण्डकी प्रदेशको पर्यटन, कला, साहित्य, उत्पादनसँगै पर्वतको कला, साहित्य, सङ्गीत, संस्कृति, भेषभुषा र धार्मिक, पर्यटकीय स्थलहरूको सम्वद्र्वन एवं प्रवद्र्वनका अतिरिक्त यस क्षेत्रको लघु घरेलु, कृषि, पशुजन्य, गैर काष्ठ, बनजन्य औद्योगिक उत्पादन तथा हस्तकलाका वस्तुहरूको प्रदर्शन एवं प्रवद्र्धन गर्दै स्वदेशी तथा विदेशी पर्यटकहरूलाई यस जिल्लामा आकर्षित गरेको आभास महोत्सव स्थलमा पाइएको छ ।
आठौँ पर्वत महोत्सवमा विषेशत आज पाचौ दिनसम्म आइपुग्दा आम दर्शकको उल्लेखनीय उपस्थितिले पनि यो मेला सफलता तर्फ उन्मुख रहेको विश्वास पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं मूल आयोजक समितिका अध्यक्ष ठाकुर वि. पौडेलले बताउनुहुन्छ । महोत्सवमा राखिएका विविध रमाइलो मेलामा दर्शकको आकर्षणले पनि पनि यो पुष्टि गरिरहेको छ । यस पटक महोत्सवमा विभिन्न प्रकारका आकर्षणहरू रहेका र उत्साहजनक सहभागिता रहेको विभिन्न उप समितिका संयोजकहरूले बताउनुहुन्छ ।
विशेष गरी यो महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, लोक दोहोरी गीत प्रतियोगिता, भजन प्रतियोगिता, रत्यौली प्रतियोगिता, स्थानीय लघु घरेलु, उत्पादनहरूको विक्री तथा औद्योगिक प्रदर्शनी, शैक्षिक प्रदर्शनी, पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी, टिकटक च्यालेन्ज, सुन्तला खाने प्रतियोगिता आदी छन् भने महोत्सव स्थलमा शान्ति र सदभाबमा अग्रदूत गौतम बुद्धको र संसारमा लोप भइसकेको विशाल प्राणी डाइनासोरको प्रतिमा राखिएको पनि छ जसमा फोटा खिच्ने दर्शकको भिड देखिएको छ । यस महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति अर्को आकर्षणको केन्द्र बनेको छ । हाल सम्मको महोत्सवको अवस्थालाई हेर्दा आर्थिक रूपमा समस्या नरहेको आर्थिक संयोजक एंब वरिष्ठ उपाध्यक्ष कमल बहादुर जि.सि. बताउनुहुन्छ ।
विभिन्न सङ्घ संस्थाहरूको सहयोग र सहभागिता रहेको आठौँ पर्वत महोत्सव सफल बनाउन यस जिल्लाका सम्पूर्ण स्थानीय निकाय, व्यापारी, उद्यमी, नागरिक समाज, राजनीतिक दल, विभिन्न सामाजिक सङ्घ संस्था, युवा क्लब, आमा समूह, वित्तीय क्षेत्र, तथा यसको सफलताका लागि रातदिन खट्नुहुने पर्वतस्थित सम्पूर्ण सञ्चार जगत एवं पत्रकारहरू ज्यूहरूको ठुलो सहयोग रहेको प्रचार प्रसार संयोजक एवं पर्वत उद्योग वाणिज्य सङ्घका महासचिव खड्ग प्रसाद खनाल बताउनुहुन्छ । साथै यस जिल्ला सँगै छिमेकी जिल्लाका सबै आमा, बुवा, दाजु भाइहरूमा एक पटक यो मेलामा सहभागी भई भरपुर मनोरञ्जन लिन र स्टलमा राखिएका हाम्रा उत्पादन एवं सुखद मूल्यमा सामान खरिद गरी सेवा लिन आग्रह पनि गर्नु हुन्छ ।




