पर्वत : सामान्यतः जिल्लाामा सरुवा भएर जाने कर्मचारी वा अन्य कोही पनि पाहुनाहरूलाई मायाको चिनोको रूपमा आयातित बस्तुहरू उपहार दिएर पठाउने गरिन्थ्यो। मायाको चिनोको रूपमा ‘मायाको चिनो’ का रूपमा सिँगारिएका काठ, कपडा वा अन्य बस्तुहरू दिएर ‘फेरि भेटौँला’ कार्यक्रम आयोजना हुने गरेका छन्।
तर हालै मात्रै गृहमन्त्रालयद्धारा सरुवा गरिएका पर्वतका प्रमुख जिल्लाा अधिकारी हरिप्रसाद घिमिरेलाई भने मायाको चिनाको रूपमा सुन्तला उपहार दिइएको छ। सोमबार बिहान आफू सरुवा भएको दोलखा प्रस्थान गरेका घिमिरेलाई आइतबार कर्मचारी मिलन केन्द्र लगायतका अन्य सङ्घ संस्थाहरूले ‘फेरि भेटौँला’ कार्यक्रमको आयोजना गरे।
घिमिरेलाई ‘शुभ यात्रा’ भन्नका लागि अन्तिम कार्यक्रम आठौँ पर्वत महोत्सवको ‘स्टेज’ बन्यो। महोत्सवमा अतिथिका रूपमा उपस्थित भएका प्रजिअ घिमिरेलाई उद्योग वाणिज्य सङ्घ पर्वतका अध्यक्ष ठाकुर बी. पौडेल, महासचिव खड्कप्रसाद खनाल, जलजला गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य लगायतले सुन्तला उपहार दिँदै ‘शुभ यात्रा’ को कामना गरे।
मेला महोत्सव वा अन्य कार्यक्रमहरूमा आयातित बस्तुहरूको प्रयोग गरेर कार्यक्रमहरू गर्दा स्थानीय बस्तुको प्रवद्र्धन हुन नसकेको, आयातित बस्तुले स्थानीय बस्तुलाई प्रतिस्थापन गरेको तथा अर्थतन्त्र आयातमुखी बनेपछि सुन्तलालाई ‘मायाको चिनो’ को रूपमा प्रयोग गरिएको हो।
सुन्तला उत्पादनमा प्रख्यात रहेको पर्वतको सुन्तला काठमाडौंसम्म पुगेर महँगो मूल्यमा बिक्री हुने गरेको छ। पर्वतको बाँसखर्कको सुन्तला पर्वतमा मात्रै नभएर बाहिर पनि सुन्तलाको एक स्वादिष्ट ‘ब्रान्ड’ को रूपमा स्थापित भइसकेको छ। जिल्लाामा यति राम्रो उत्पादन भएको अर्थतन्त्रमा टेवा दिइरहेको सुन्तलालाई मायाको चिनोको रूपमा प्रयोग गर्दा पर्वतवासीको पैसा बाहिरिन नपर्ने पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर बी. पौडेलले बताए।
जिल्लामा उत्पादित सामग्रीहरूलाई नै विभिन्न कार्यक्रमहरूमा प्रयोग गर्दा तथा ठुला कार्यक्रमहरूमा स्थानीय बस्तुहरूको प्रवद्र्धन गर्दा जिल्लााको उद्यम फस्टाउने प्रमुख जिल्लाा अधिकारी घिमिरेले बताए। उद्योग वाणिज्य सङ्घ आफैमा पनि साना ठुला व्यवसायीहरूलाई सहयोग गर्ने उद्देश्यले स्थापना भएकोले स्थानीय उत्पादनको प्रयोगलाई प्राथमिकतामा राख्नु नै उत्तम हुने उनको भनाई छ।
पुस ९ गतेबाट सुरु भई १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा आएका हरेक पाहुना तथा कलाकारहरूलाई ‘मायाको चिनो’ को रूपमा सुन्तला सहितका अन्य घरेलु तथा लघु उद्यमीबाट उत्पादित बस्तुहरू दिने गरिएको छ। लप्सीबाट उत्पादन गरिने विभिन्न परिकारहरुहरु पनि पर्वतमा प्रख्यात छन्।
यस्तै अल्लोबाट तयार गरिएका घरबुना कपडाहरू, गाउँ गाउँका कृषकहरूले उत्पादन गरेर ‘स्टल’मा राखिएको मह, दुग्धजन्य परिकारहरू पनि पाहुनाहरूलाई चखाउने र उपहार दिने गरिएको अध्यक्ष पौडेलले बताए। यस पटकको महोत्सवलाई कम खर्चिलो बनाउनको लागि पनि आयातित खादा र मालाको प्रयोग नगरी स्थानीय बस्तुको प्रयोगले पनि सहयोग गरेको उनको भनाइ छ।
करिब १० महिना अगाडि पर्वतको प्रमुख जिल्लाा अधिकारीका रूपमा आएका घिमिरेको दोलखा सरुवा भएको छ। उनको ठाउँमा सहसचिव लक्ष्मीप्रसाद पौडेल आएका छन्। चितवनको भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत रहेका पौडेलले मङ्गलवारदेखि कार्यभार सम्हाल्ने छन्। गृह मन्त्रालयको मन्त्री स्तरीय निर्णयबाट उनीहरूको सरुवा भएको हो।




