पर्वत : विगत पाँच वर्षदेखि सामाजिक सञ्जालमार्फत सक्रिय रहँदै आएको बुहारी ग्रुप अफ नेपालको तदर्थ समिति गठन गरिएको छ ।
सोमबार कुश्मामा आयोजना भएको भेटघाट तथा वनभोज कार्यक्रमको अवसरमा अभियानलाई अझै सशक्त बनाउनको लागि तदर्थ समिति गठन भएको हो । हालसम्म सामाजिक सञ्जालमा अभियान्ताको रुपमा काम गर्दै आइरहेका समाजसेवी महिलाहरुको समूहले औपचारिक रुपमा नै समिति निर्माण गरेका हुन् ।
तदर्थ समितिको अध्यक्षमा हालसम्म समूहको संयोजकको रुपमा काम गर्दै आएकी लक्ष्मी तिवारी सापकोटालाई चयन गरिएको छ । यस्तै प्रथम उपाध्यक्षमा कल्पना तिवारी, द्वितीय उपाध्यक्ष्मा गीता घिमिरे, सचिवमा पूजा कार्की शर्मा, सह–सचिवमा पुनम शर्मा आचार्य, कोषाध्यक्षमा सरिस्मा तिमिल्सेना, सह–कोषाध्यक्षमा निर्मला पौडेल तथा सदस्यहरूमा बिनिता अधिकारी (बिनु), सैलजा तिवारी, रिया आचार्य र गीता सापकोटा चयन भएका छन् ।
तदर्थ समितिको निर्माण तथा समाज सेवामा सक्रिय रहेका उनीहरुबीच आपसी भेटघाट र छलफलका लागि बनभोजको आयोजना गरिएको हो । दिदीबहिनीबीच आपसी चिनजान, अनुभव साटासाट तथा संस्थाको उद्देश्य र भावी कार्ययोजनाबारे छलफल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएकी समितिका अध्यक्ष लक्ष्मी तिवारी सापकोटाले बताइन् ।
बुहारी ग्रुप अफ नेपालकी संस्थापक सापकोटाकै अध्यक्षतामा भएको कार्यक्रममा फलेवास नगरपालिकाकी उपप्रमुख शोभा कुमारी क्षेत्रीको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा बोल्दै क्षेत्रीले आफू जनप्रतिनिधि मात्र नभई एक बुहारीको हैसियतले बुहारी ग्रुपसँग नजिक रहेको बताउँदै आगामी दिनमा संस्थाको गतिविधिमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन । कार्यक्रमको सञ्चालन पुनम शर्मा आचार्यले गरेकी थिइन् ।
कार्यक्रममा करिब ४० जना सक्रिय सदस्यहरूको उपस्थिति रहेको थियो । यो समूह नाफामूलक नभई सामाजिक सद्भाव, एकता र बुहारीहरूको सशक्तीकरणका लागि स्थापित भएको हो । सोमबारको बनभोज कार्यक्रममा आगामी दिनमा सामाजिक रूपमा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने गरी छलफल भएको छ ।
‘बुहारी ग्रुप अफ नेपाल’ को तदर्थ समिति गठन
माघ ६, २०८२




