पर्वत : भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतको आयोजनामा तीन दिने गाई÷भैंसी पालन तालिम सम्पन्न भएको छ ।
गत सोमबारदेखि सुरु भएको तालिममा जिल्लाका सात वटा स्थानीय तहका १८ जना पशुपालक कृषकहरुको सहभागिता रहेको थियो । बुधबारसम्म सञ्चालन भएको तालिममा व्यवसायिक रुपमा पशुपालन गर्नका लागि सहभागीहरुलाई सहजीकरण गरिएको छ । पशुपालनको क्षेत्रमा आइरहेका चुनौती, पशु स्वास्थ्य, पशुपंक्षीजन्य उत्पादनको बजारीकरण, पशुपालनका प्राबिधिक तथा ग्रामिण सीपहरु सहित उन्नत जातका गाई÷भैंसीको पहिचान, व्यवसायिक पालनका फाइदा र सम्भावनाका बारेमा सहभागीहरुलाई जानकारी दिइएको छ ।
यस्तै, सानो, मध्यम र ठूलो स्तरको फार्म व्यवस्थापन, वैज्ञानिक गोठ निर्माण विधि, सरसफाइ र बायो–सिक्युरिटी उपाय, जाडो र गर्मीमा पशु संरक्षणका उपाय, घाँस, दाना तथा पोषण व्यवस्थापन, सन्तुलित आहारको महत्व, हरियो घाँस, सुक्खा घाँस र कन्सन्ट्रेट दानाको प्रयोग, पानी व्यवस्थापन, थुनेलो, खुरपाके, पेट फुल्ने लगायतका सामान्य रोगहरु, खोप कार्यक्रम र किटनाशक औषधिको प्रयोग, प्राथमिक उपचार र रोग पहिचानका बारेमा पनि प्रशिक्षण दिइएको कार्यालयले बताएको छ ।
दूधको स्वच्छता र भण्डारण, उत्पादन बढाउने उपाय, लागत–नाफा विश्लेषण, अभिलेखीकरण, सहकारी, अनुदान र सरकारी सेवा तथा सहयोग, व्यवहारिक अभ्यास तथा छलफल, सहभागीको अनुभव आदान–प्रदान, समस्या समाधानका उपाय लगायतको विषयमा पनि तालिममा प्रशिक्षण गरिएको छ ।
तालिममा कार्यालय प्रमुख सुरेश कुमार श्रेष्ठ तथा प्राबिधिक रामकृष्ण सुबेदी, कुश्मा नगरपालिकाको पशु सेवा शाखाका पशु विकास अधिकृत डा. प्रदीप भण्डारी, पशु स्वास्थ्य प्राबिधिक प्रकाश परियार, गणेश रिजाल लगायतले सहजीकरण गर्नुभएको थियो ।
तालिमको समापनको अवसरमा बुधबार सबै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । तालीम समापन तथा प्रमाणपत्र बितरण कार्यक्रमको अध्यक्षता कार्यालय प्रमुख सुरेश कुमार श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्राबिधिक गणेश रिजालले गर्नुभएको थियो । सो अवसरमा सहभागीको तर्फबाट डम्मर बि.क र सङ्गिता पौडेलले मन्तब्य राख्नुभयो ।




