पर्वत : पर्वतको कुश्मा नगरपालिका शैक्षिक सत्रको अन्त्यमा हुने वार्षिक परीक्षालाई नगरस्तरीय रुपमा सञ्चालन गर्ने भएको छ ।
विगतमा पनि वार्षिक परीक्षालाई पालिकास्तरमा सञ्चालन गर्दै आइरहेको कुश्माले कक्षा ८ को अन्त्यमा हुने आधारतभूत तहको परीक्षासहित कक्षा ४ देखि ९ सम्मका सबै परीक्षामा एक रुपता कायम गर्न लागेको हो । नगरपालिकाभित्र रहेका हरेक विद्यालयहरुको शैक्षिक गुणस्तर समान मापन गर्न, परीक्षा सञ्चालनमा विद्यालयहरुले भोग्दै आएको प्राविधिक तथा आर्थिक समस्याहरु हटाउन तथा हरेक विद्यालयको गुणस्तर मापनको सहजताका लागि नगरस्तरीय परीक्षा सञ्चालनको तयारी यस वर्ष भपनि चलिरहेको परीक्षा समितिका संयोजक तथा कुश्मा नगरपालिकाको शिक्षा शाखाका प्रमुख बिष्णुप्रसाद तिवारीले बताउनुभयो ।
कुश्मा नगरपालिकाले बनाएको परीक्षा समय तालिकामा चैत १२ गतेका लागि पनि परीक्षा सञ्चालन हुने भनिएको छ । उक्त दिनमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको भए पनि कुश्मामा भने परीक्षा सञ्चालन हुने छ । आधारभूत तहका लागि राष्ट्रिय परीक्षा बोर्डले तयार पारेका केही प्रश्नहरु प्रयोग गर्ने निर्णय भएको र चैत १२ मा राष्ट्रिय विदा नभएकोले बोर्डले उक्त दिनका लागि पनि परीक्षा राखेको छ । परीक्षा बोर्डले नै चैत ८, १० र १२ गतेका लागि परीक्षा राखेको र उसका प्रश्नहरु प्रयोग गर्दा गण्डकी प्रदेश सरकार दिएको बिदाको दिनमा पनि परीक्षा सञ्चालन गर्नुपर्ने बाध्यता भएको छ ।
केही समय अगाडि बसेको बार्षक परीक्षा समितिको बैठकले परीक्षा बोर्डले तयार पारेका प्रश्नहरु लगाएर कुश्मा नगरपालिकाको शैक्षिक स्तरको बारेमा मापन गर्न सहज पनि हुने भएकोले बिदाको दिनमा भए पनि परीक्षा सञ्चलानको निर्णय गरेको थियो । उक्त समितिमा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुका शिक्षक तथा प्राधानाध्यापक तथा नगरपालिकाको शिक्षा शाखामा कार्यरत कर्मचारीहरु प्रतिनिधिका रुपमा रहेका छन् ।
यस वर्ष आगामी चैत ८ गतेबाट परीक्षा सुरु गरेर चैत १६ गते परीक्षा सक्ने गरी समयतालिका समेत निर्धारण भइसकेको छ । अहिले प्रश्नपत्र निर्माणको काम सकेर छपाईँका लागि तयारी अवस्थामा राखिएको र लगत्तै विद्यालयमा रहेका विद्यार्थी सङ्ख्याको आधारमा प्रश्नपत्र पठाइने तिवारीको भनाइ छ ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि आधारभूत तह अन्तर्गत कक्षा ८ को उत्तरपुस्तिका परीक्षणको काम नगरपालिकाले नै सञ्चालन गर्ने भएको छ । परीक्षा केन्द्र तोकिएका विद्यालयहरुबाट उत्तरपुस्तिकाहरु नगर शिक्षा शाखामा बुझाउनुपर्ने र शाखाले विषयगत विज्ञहरुलाई बोलाएर नगरपालिकामा नै उत्तरपुस्तिका परीक्षण गर्ने छ । जसमा बाह्य परीक्षाको प्राप्ताङ्कलाई नगरपालिकाले नै अनलाईनमा प्रविष्ट गर्ने छ भने आन्तरिक मूल्याङ्कनतर्फको अङ्क विद्यालयले नै अनलाईनमा चढाउने छ । कक्षा ८ बाहेक अरु कक्षाका उत्तरपुस्तिका भने विद्यालयमा नै परीक्षण हुने र बाह्य परीक्षाको अङ्क पनि विद्यालयले नै चढाउने निर्णय परीक्षा समितिले गरेको छ ।
वार्षिक परीक्षालाई नगरस्तरीय रुपमा सञ्चालन गर्दै कुश्मा
फाल्गुन २९, २०८२




