मङ्ल, चैत्र ३, २०८२
Tue, March 17, 2026

पर्वत जेसीजद्धारा प्रदेश अस्पताल पर्वतलाई १६ लाख मूल्यको एनालाइजर मसिन हस्तान्तरण

चैत्र २, २०८२

पर्वत : सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको पर्वत जेसीजले प्रदेश अस्पताल पर्वतमा ‘अटोमेटिक बायोक्यामेष्ट्री एनालाइजर’ मसिन सहयोग गरेको छ।
अस्पतालमा बिरामीहरूको चाप बढ्दै जाँदा अहिले प्रयोगमा रहेको ‘मसिन’ ले मात्रै अपुग भएको अवस्थामा यो ‘मसिन’ सहयोग गरिएको हो। कलेजो, मिर्गौला र रगतमा कोलेस्ट्रोलको अवस्थाको परीक्षण गर्ने उक्त उपकरण प्रदान गरेपछि अस्पतालले दिने सेवा अझै छिटो र प्रभावकारी हुने पर्वत जेसीजकी अध्यक्ष शर्मिला शर्माले बताइन्। कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको पहलमा रोजगारीको सिलसिलामा विदेशमा रहेका पर्वतेली तथा अन्य नेपालीहरूको सहयोगमा उक्त ‘मसिन’ आएको हो।
अस्पतालमा आधुनिक उपकरण तथा प्रविधिहरू हुँदा जिल्लाका बिरामीहरूलाई स्वास्थ्य परीक्षणका लागि पोखरा, काठमाडौं लगायतका ठाउँहरूमा जान नपर्ने भएकोले यो ‘मसिन’ सहयोग गरिएको शर्माको भनाइ छ। पछिल्लो समयमा कलेजो, मिर्गौला र कोलेस्ट्रोलका बिरामीहरूको चाप बढ्दै गइरहेको अवस्थामा अस्पतालमा रहेको ‘मसिन’ ले मात्रै आवश्यकता पूरा हुन नसक्ने भएकोले करिब १६ लाख मूल्य बराबरको ‘एनालाइजर मसिन’ सहयोग गरिएको उनको भनाइ छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलले अस्पतालमा रहेको ‘मसिन’ले मात्रै सेवा गर्दा कहिलेकाहीँ सामान्य समस्या आएको अवस्थामा सेवा अवरुद्ध हुने सक्ने बताए। सहयोगका रूपमा आएको ‘बायो केमेस्ट्री एनालाइजर’ लाई ‘ब्याक अप’ उपकरणका रूपमा राख्दा बिरामीहरूको चापको आधारमा प्रयोगमा ल्याएर छिटो सेवा दिन सकिने उनको भनाइ छ।
स्वास्थ्यमा विभिन्न समस्या देखिएको व्यक्तिहरूको अन्तरङ्ग रोग र अङ्गहरूको अवस्थाको बारेमा पत्ता लगाउन प्रयोग हुने यो उपकरण प्राप्त भएसँगै अब एउटा ‘मसिन’लाई आकस्मिक कक्षमा र अर्कोलाई बहिरङ्ग विभागमा राखेर सेवा दिन सकिने छ।
सञ्चालनमा आएको करिब ३५ वर्षपछि प्रदेश अस्पताल पर्वत स्तरोन्नति भएर ५० शय्या भन्दा बढी क्षमतामा सञ्चालनमा रहेको छ। १५ शय्या क्षमतामा चल्दै आएको अस्पतालको स्तारोन्नती भएपछि बिरामीहरूको चाप पनि दैनिक रूपमा बढिरहेको छ। ५० शय्या सञ्चालनको अनुमति पाएको भए पनि ६४ शय्या क्षमतामा सेवा प्रदान गरिरहेको अस्पतालमा विशेषज्ञ चिकित्सकहरूको व्यवस्थापन भएपछि उपचारका लागि पोखरा र अन्य ठाउँमा जानुपर्ने पर्वतबासीहरुको बाध्यताको अन्त्य भएको छ।
केही वर्ष अगाडिसम्म दैनिक करिब ४०÷४५ जना बिरामीहरूलाई सेवा प्रदान गर्ने गरेको अस्पतालले अहिले भने दैनिक करिब तीन सय भन्दा बढी बिरामीहरूलाई सेवा दिइरहेको छ। यही अवस्थामा पर्वत जेसीजले गरेको सहयोगले अस्पतालको सेवा प्रवाहमा थप गुणस्तर कायम हुने र सेवा छिटो पनि दिन सकिने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष याम परियार (शिव) ले बताए।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive