पर्वत : पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा कार्यरत बालविकास सहजकर्ता र प्राथमिक तहमा कार्यरत शिक्षकहरूलाई शैक्षिक तालिम प्रदान गरिएको छ ।
वडा कार्यालय ठुलीपोखरीको आयोजना तथा जनता सुदर्शन माध्यमिक विद्यालयको समन्वयमा गत वैशाख ३ गतेदेखि ६ गतेसम्म तालिम सञ्चालन गरिएको हो । तालिममा २७ जना शिक्षकहरूको सहभागिता थियो । शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागि शिक्षकहरुलाई पर्याप्त तालिमको व्यवस्था हुनुपर्छ भन्ने मान्यताका साथ वडा कार्यालयले उक्त तालिम सञ्चालनको लागि पहल गरेको कुस्मा नगरपालिका १२ का वडा अध्यक्ष झलक प्रसाद रिमालले बताए । आधारभूत तहदेखि नै विद्यार्थीहरूलाई पर्याप्त शैक्षिक सामग्रीको निर्माण र प्रयोग गरी शिक्षण गर्न सकेमा मात्रै सिकाइ दिगो र प्रभावकारी हुने जनता सुदर्शन मा वि का प्रधानाध्यापक गोविन्दराज गौतम बताउँछन् । कार्यक्रममा लेखक तथा इसीडी प्रशिक्षक द्रोण प्रसाद न्यौपानेले सहजीकरण गरेका थिए ।
तालिममा सहभागीहरूको तर्फबाट देवीस्थान प्राथमिक विद्यालयकी शिक्षक भगवती कुमारी क्षेत्री ढुङ्गानाले आफ्ना अनुभवहरू प्रस्तुत गरिन । तालिममा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । वडाध्यक्ष झलकप्रसाद रिमालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम जनता सुदर्शन माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमनाथ कुँवरको अध्यक्षता तथा शिक्षक कृष्णप्रसाद आचार्य को सञ्चालनमा सम्पन्न भएको थियो ।
मिति ः २०८३ वैशाख ८




