काठमाडौँ। हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा सुखद सुरुआत गरेको छ।
अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह ‘सी’ को खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलअन्तले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो।
२८ वर्षपछि विश्वकपमा फर्किएको स्कटल्याण्डले जितसँगै शीर्ष तीन अंक जोडेको छ। स्कटल्याण्डले पछिल्लो पटक सन् १९९८ मा विश्वकप खेलेको थियो। त्यसपछि लगातार छनोट हुन सकेको थिएन।
स्कटल्याण्डको जितमा जोन म्याकगिनलले गरेको एक गोल नै निर्णायक गोल साबित भयो। उनले खेलको पहिलो हाफको २८औँ मिनेटमा गोल गरे।
समूह ‘सी’ अन्तर्गत आज बिहान सम्पन्न खेलमा पाँच पटकको विश्वकप विजेता ब्राजिलले मोरक्कोसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको थियो। यस समूह ‘सी’ मा स्कटल्याण्ड तीन अङ्कका साथ शीर्ष स्थानमा छ भने मोरक्को एक अङ्कका साथ दोस्रो स्थानमा छ।
त्यस्तै, समान एक अङ्क नै बटुलेको ब्राजिल तेस्रो स्थानमा छ। अङ्कविहीन रहेको हाइटी चौथो स्थानमा छ।
विश्वकपअन्तर्गत आजै समूह ‘डी’ को खेलमा अस्ट्रेलिया र टर्कीबीच प्रतिस्पर्धा हुनेछ। क्यानडाको भ्यानकुभर स्टेडियममा हुने उक्त खेल अहिले बिहान ९ः४५ बजेदेखि सुरु हुनेछ।
आज हुने अर्को समूह ‘इ’ को खेलमा जर्मनी र कुराकाओबीच भिडन्त हुनेछ। उक्त खेल राति १०ः४५ बजे हुनेछ।




