पर्वत : जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा सवारी कारबाहीबाट करिब ६३ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक बलबहादुर गुरुङका अनुसार सवारी साधनहरू सम्बन्धी नियम उल्लङ्घन गरेका कुल ७ हजार २ सय १२ ओटा सवारीहरूलाई कारबाही गर्दा ६२ लाख ९७ हजार ५ सय २९ रुपैयाँ राजश्व उठेको हो । सबैभन्दा बढी भदौ महिनामा ८ लाख २८ हजार रुपैयाँ उठेको छ भने उक्त महिनामा ८ सय ५० ओटा सवारीहरूमाथि कारबाही भएको छ ।
यस्तै, सबैभन्दा कम फागुन महिनामा ५ सय १९ ओटा सवारीहरूमाथि कारबाही हुँदा ४ लाख ८८ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । आर्थिक वर्षको पहिलो महिनामा साउनमा ७ सय ११ ओटा सवारीहरूबाट ६ लाख ७२ हजार ५ सय, असोजमा ५ सय ३२ सवारीहरूबाट ५ लाख २७ हजार, कात्र्तिकमा ५ सय १४ ओटा सवारीबाट ५ लाख ६ हजार ५ सय रुपैयाँ उठेको छ ।
मङ्सिरमा ६ सय ७२ सवारीलाई कारबाही गर्दा ६ लाख ४३ हजार ५ सय, पुसमा ६ सय ३७ सवारीहरूबाट ५ लाख ९८ हजार ५ सय, माघमा ५ सय ८० सवारीहरूबाट ५ लाख २४ हजार ५ सय रुपैयाँ सङ्कलन भएको छ । चैतमा ५ सय ८८ ओटा सवारीसाधनहरूमाथि भएको ट्राफिक कारबाहीबाट ५ लाख ३४ हजार ५ सय, वैशाखमा ८ सय ४२ सवारीहरूबाट ७ लाख ६३ हजार ५ सय र जेठमा ७ सय ६७ सवारीहरूलाई कारबाही गर्दा ७ लाख ३५ हजार रुपैयाँ राजश्व उठेको प्रहरी नायव निरीक्षक गुरुङले बताए ।
९ सय २९ ओटा ट्रक/टिपरबाट ६ लाख ८६ हजार, ४ सय १७ ओटा बसबाट ३ लाख १२ हजार, ३ हजार ४ सय ३१ कार/जिपबाट ३३ लाख ४९ हजार, ३ सय ६० ओटा ट्र्याक्टरबाट २ लाख ६९ हजार ५ सय, २ हजार २८ ओटा मोटरसाइकलबाट २० लाख ८७ हजार रुपैयाँ राजश्व उठेको छ ।
पर्वत ट्राफिकले आर्थिक वर्षमा ०८०/०८१ मा १ करोड १ लाख १७ हजार रुपैयाँ र आर्थिक वर्ष ०८१/०८२ मा १ करोड १३ लाख २३ हजार रुपैयाँ राजश्व उठेको थियो । विगतका दुई वर्षहरूको तुलनामा चालु आर्थिक वर्षमा भने कम राजश्व उठ्ने देखिएको छ ।




