पर्वत : रोटरी क्लब अफ पर्वतको आयोजना, रोटरी क्लब अफ काठमाण्डौको सहयोग एवं नारायण माध्यमिक विद्यालयको संयोजनमा शिक्षकहरूको लागि आइ.सी.टी तालिम सम्पन्न भएको छ ।
कुश्मा नगरपालिका अन्तर्गत रहेका विभिन्न विद्यालयका करिब ३० जना शिक्षकहरूका लागि दुई दिने सूचना तथा सञ्चार प्रविधि सम्बन्धी तालिम कार्यशाला सम्पन्न भएको हो । सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरूको सूचना प्रविधि सम्बन्धी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त तालिम कार्यशालामा नारायण माध्यमिक विद्यालयको साथै सो अन्तर्गतका फिडर विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो । तालिम शुभारम्भ कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद शर्माले आफू विद्यालय व्यवस्थापन समितिको सदस्य हुँदै नेतृत्वमा आइपुग्दा झन्डै १२ वर्ष विद्यालयको हरेक गतिविधिमा संलग्न रहेको तर यस किसिमको उपयोगी प्राविधिक तालिम कार्यशाला पहिलो पटक रोटरी क्लब अफ पर्वतले आयोजना गरेको भन्दै क्लबप्रति आभार व्यक्त गर्नुभयो ।
तालिममा बोल्दै रोटरी क्लब अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले रोटरी एउटा विश्वव्यापी सेवामूलक संस्था भएको बताउँदै शिक्षा, स्वास्थ्य, आयआर्जनको क्षेत्रमा काम गर्दै आएको बताउँदै शिक्षा र प्राविधिक ज्ञानमा आध्यात्मिक चिन्तनलाई एकीकृत गर्न सकेमा सिकाइले पूर्णता पाउने बताउनुभयो ।
शिक्षक विद्यार्थीहरूमा आध्यात्मिक चिन्तन, वैदिक सनातनी संस्कारमा ह्रास आएसँगै अनुशासनमा कमी आएको भन्दै संस्थापक अध्यक्ष प्रसाईले आध्यात्मिक चिन्तन, वैदिक सनातनी संस्कार, विज्ञान संवत् शिक्षा र सुशासित राजनीतिको लागि आफ्नो बाँकी जीवन समर्पित रहेको बताउनुभयो । शुभारम्भ समारोहमा रोटरी क्लब अफ पर्वतका पूर्व अध्यक्षद्वय उत्तम प्रसाद अधिकारी, योगराज गिरी, रोट्रयाक्ट क्लब अफ पर्वत पोखराका प्रतिनिधि मितेश हमाल समेतको सहभागिता रहेको थियो ।




