सोम, असार १, २०८३
Mon, June 15, 2026

जलजलाको गाउँकै हाटबजारमा बिक्री हुन थाल्यो ‘मही’

असार १, २०८३

पर्वत : जिल्लाको जलजला गाउँपालिका–४ मोहन चोकमा शनिवार स्थानीय स्तरमा उत्पादित बस्तुहरूको हाटबजार लाग्यो । गाउँपालिकाभित्रका १० जना उत्कृष्ट कृषकहरूले उत्पादन गरेका बस्तुहरू उक्त हाटमा राखिएको थियो । सामान बिक्री गर्ने छेवैमा थिए टोपबहादुर क्षेत्री । उनको ‘डेस्क’ मा पनिर, घ्यू, दूध लगायतका बस्तुहरूसहित ‘मही’ पनि राखिएको थियो ।
अचार, दाल, चामल, पिठो, तरकारी, ढाकाका कपडा लगायतका धेरै प्रकारका सामग्रीहरू राखिएको हाटमा बिक्रीका लागि राखिएको ‘मही’ले धेरैको ध्यान तानिरहेको थियो । ‘मही’ खानेहरू नहुँदा कतिपयले मल खादमा पोख्ने, चौपायालाई नै खुवाउने तथा निःशुल्क रूपमा बाँड्ने गरेका छन् । ‘मही’को महत्त्व बढ्दै जाँदा बजार क्षेत्रमा किनेर खाने अभ्यास बिस्तारै सुरु हुन लागेको भए पनि गाउँमा भने खेर फालिने पदार्थको रूपमा समेत चिनिन्छ ।
जलजलाको मोहन चोक र मिलन चोकमा बजार भए पनि ठाउँ भने ग्रामीण क्षेत्र नै हो । गाउँमै लागेको हाटबजारमा ‘मही’लाई बिक्रीका लागि राख्दा अन्य सामानहरू खरिद गर्न आएका ग्राहकहरू पनि दङ्ग परेका देखिन्थे । गाउँमा बसेर गाई भैँसी पाल्दा पनि घरमा दुहुनो नभएका परिवारका व्यक्तिहरूले भने ‘मही’ खरिद गरिरहेका देखिन्थे ।
लामो समयसम्म वैदेशिक रोजगारीमा रहेका क्षेत्री गाउँमा नै केही गर्ने सोच बनाएर फर्किए । लगत्तै ‘गोमा गाई भैँसी फर्म’ दर्ता गरेका उनी १० वर्षदेखि यो पेसामा रमाइरहेका छन् । विदेशमा बगाएको पसिनाको तुलनामा गाउँमा दूध र मही बेचेर आएको आम्दानीको सन्तुष्टिको तुलना नै हुन नसक्ने उनी सुनाउँछन् । त्यसमा पनि आफ्नो मिहिनेतका कारण प्रति लिटर ८० रुपैयाँका दरमा ‘मही’ बिक्री हुँदा मिहिनेत गर्ने हो भने कुनै पनि बस्तु खेर नजाने पाठ उनले सिकेका छन् ।
‘यो हाटमा मात्रै होइन अघि पछिको समयमा पनि महीले बजार पाइरहेको छ । यहाँ पनि आज ८० रुपैयाँ लिटरमा बिक्री भइरहेको छ । कहीँ दूध पनि बिकेन भन्ने सुन्छु, तर म त खटिन्छु नि बिक्रीका लागि’, टोपबहादुर भन्छन्, ‘गाउँपालिकाभरमा पशुपालन गर्ने उत्कृष्ट कृषकहरूमध्येको एक जना म पनि हुँ भन्न पाउँदा गर्व लाग्छ ।’ अहिले झन् गर्मीको बेलामा सबैको घरमा दुहुनो भैँसी नहुने र गर्मी पनि हुने भएकोले सकेसम्म ‘गोरस’ खानुपर्छ भन्ने मान्यता रहेको उनले बताए । गर्मी मौसममा दूध वा ‘मही’ सेवन गर्दा शरीरमा पानीको मात्रा पनि पूरा हुने र स्वाद मन पराउनेहरूलाई पिउन रुच्ने भएकोले पनि प्रायः व्यक्तिहरूले मोही पिउन रुचाउने उनले सुनाए ।
सामान्य गुजाराका लागि गाई भैँसी पाल्ने कृषकहरूको घरमा थोरै मात्रामा उत्पादन हुने मही छिमेकमा लेनदेन गर्न सहज भए पनि व्यावसायिक रूपमा चौपाया पालेर दुग्धजन्य पदार्थको उत्पादन गर्नेहरूले भने सधैँ निःशुल्क दिन नसकिने क्षेत्रीले बताए । कृषि, कृषक र मिहिनेतको महत्वका लागि र महीलाई मोहरमा बदल्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि आफूले ‘मही’ को बिक्रीमा पनि उत्तिकै जोड गरिरहेको उनको भनाइ छ ।
जलजलाको लस्तीमा श्रीमान् र श्रीमतीले मात्रै सञ्चालन गर्दै आइरहेको उक्त फार्ममा अहिले ६४ ओटा कुखुरा, ८ ओटा बाख्रा, ८ ओटा गाई र ४ ओटा भैँसी छन् । उनको ‘फर्म’ मा अहिलेसम्म २५ लाख लगानी पुगिसकेको छ । यो लगानीले उत्पादन राम्रो भइरहेको र उत्पादनको मुख्य बजार नजिकै रहेको बागलुङ बजार रहेको क्षेत्रीले बताए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive