आइत, साउन ३१, २०८३
Sun, August 16, 2026

माछापुच्छ्रे बैङ्कद्वारा विद्यालयमा स्मार्ट टी.भी र शैक्षिक सामग्री सहयोग

साउन ३१, २०८३

पर्वत : माछापुच्छ्रे बैङ्क लिमिटेड कुश्मा शाखाले जिल्लाको कुश्मा नगरपालिका–१ पाङको नुवार सुवेदीथर माध्यमिक विद्यालयमा स्मार्ट टेलिभिजन सहित शैक्षिक सामग्री सहयोग गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एक थान स्मार्ट टेलिभिजन सहित कपी, कलम, पेन्सिल सहित करिब एक लाख मूल्य बराबरका सामग्रीहरू विद्यालयमा आएको प्रधानाध्यापक दीपक सुवेदीले बताए । बैङ्कले सहयोग गरेको स्मार्ट टेलिभिजनबाट साना कक्षामा अध्ययनरत बालबालिकाहरूलाई मनोरञ्जनात्मक तरिकाले शिक्षण गर्न तथा उनीहरूलाई विद्यालयमा आकर्षण गर्न पनि सहज हुने उनले बताए ।
विद्यालयमा अध्ययनरत एक सय ६० जना विद्यार्थीहरूलाई नै एक दर्जन भन्दा बढी कपी सहित अन्य सामग्रीहरू सहयोग गरिएको छ । ‘सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश बालबालिकाहरू कमजोर आर्थिक अवस्था भएको परिवारका छन् । उनीहरूको लागि एउटा कपी मात्रै सहयोग गर्दा पनि अध्ययनमा ठुलो राहत मिल्छ’, उनले भने, ‘उहाँहरूले एक लाख मूल्य बराबरका सामग्रीहरू सहयोग गर्नु खुसीको कुरा हो । यसले हाम्रा बालबालिकाहरूमा सिकाइप्रतिको उत्प्रेरणा बढाउने छ ।’
विद्यार्थीहरूलाई सामग्री वितरण गर्दै वडाध्यक्ष खगराज पौडेलले सामाजिक सेवाको कामले गरेको योगदानको प्रशंसा गरे । सामुदायिक विद्यालयमा सशर्त शीर्षकमा त्यो पनि निकै कम खर्च आउँदा आवश्यक सामग्रीको व्यवस्थापन गर्न कठिनाइ हुने गरेको सुनाउँदै उनले विद्यालयमा गरेको सहयोग अन्य सहयोगको तुलनामा माथि हुने बताए । एउटा विद्यालयमा अलिकति मात्रै सहयोग गर्दा पनि त्यसबाट धेरै परिवारका बालबालिकाहरू लाभान्वित हुने भएकोले अन्य सहयोगदातालाई पनि विद्यालयमा नै सहयोग गर्न उनले आह्वान गरे ।
माछापुच्छ्रे बैङ्क कुश्मा शाखाका प्रबन्धक सुदीप बरालले शाखाले विद्यालयमा सहयोग गर्न पाउनु खुसीको कुरा भएको बताए । आगामी दिनमा पनि आफूहरूले विद्यालयलाई प्राथमिकतामा राखेर अध्ययनमा समस्या भोगिरहेका बालबालिकाहरूको अध्ययनमा सघाउने गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो सहयोग विद्यालयमा पु¥याउनको लागि माछापुच्छ्रे बैंकको केन्द्रिय कार्यालयमा कार्यरत माधव सुवेदीले विशेष भूमिका निर्वाह गरेका थिए । शिक्षक अभिभावक संघका अध्यक्ष ख्यामराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक जयराम सुवेदीले गरेका थिए ।

  • यज्ञप्रसाद शर्मा
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive