पर्वत : विद्यार्थीमा रहेको गायन प्रतिभा पहिचान तथा प्रस्फुटन गर्ने उद्देश्यले पर्वतमा जिल्ला स्तरीय एकल गायन प्रतियोगिता हुने भएको छ ।
गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयअन्तर्गत सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको एकीकृत सेवा कार्यालय पर्वतको आयोजनामा प्रतियोगिता हुन लागेको हो । कार्यालयले जिल्लाका स्थानीय तहबाट उत्कृष्ट छनोट भएका १४ जना विद्यार्थीलाई प्रतियोगितामा सहभागी गराउने बताएको छ ।
यही असोज १८ गते हुने प्रतियोगितामा प्रत्येक प्रतियोगीले दुईवटा गीत प्रस्तुत गर्नुपर्नेछ । पहिलो गीत सहभागीको रोजाइअनुसारको जुनसुकै विधाको हुन सक्नेछ भने दोस्रो गीत अनिवार्य रूपमा लोकगीत हुनुपर्नेछ । प्रत्येक गीतका लागि बढीमा पाँच मिनेटको समय निर्धारण गरिएको छ । दुईवटै गीत सांगीतिक ट्र्याकमा प्रस्तुत गर्न चाहेमा आवश्यक ट्र्याकको व्यवस्था प्रतियोगी स्वयंले गर्नुपर्नेछ ।
प्रतियोगितामा गीतको शब्द, भाषा, भेषभूषा तथा प्रस्तुतीकरणमा शिष्ट, मर्यादित र सामाजिक सन्देश कायम गर्ने कुरालाई प्राथमिकता दिइने कार्यालय प्रमुख जीवन पौडेलले बताए । प्रतियोगीले गीतको भावअनुसार हाउभाउ, आत्मविश्वास र शालीन प्रस्तुति दिनुपर्नेछ भने आयोजकले तोकेको समय, नियम तथा कार्यक्रमको मर्यादा पालना गर्नुपर्नेछ ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने कार्यालयले बताएको छ । उत्कृष्ट छनोट भएका विद्यार्थीले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजना हुने गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने अवसरसमेत प्राप्त गर्नेछन् ।
पर्वतमा जिल्ला स्तरीय एकल गायन प्रतियोगिता हुँदै
अशोज ४, २०८३




