बुध, अशोज ७, २०८३
Wed, September 23, 2026

पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने

अशोज ७, २०८३

पर्वत : नेपालीहरूको महान् पर्व विजयादशमी तथा दीपावलीको अवसरमा पर्वतको आर्थरमा वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
स्थानीय आर्थर डाँडाखर्क युवा क्लबको आयोजनामा ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ विविध सांस्कृतिक कार्यक्रमहरूसहित आउँदो कात्र्तिक सात गतेदेखि १० गतेसम्म सञ्चालन गर्ने तयारी भएको हो । आयोजक आर्थर डाँडाखर्क युवा क्लबका अध्यक्ष सुदीप शर्माका अनुसार नेपालको राष्ट्रिय खेल भलिबलको विकास तथा विस्तार एवं नयाँ प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले ‘वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८३’ को आयोजना गरिएको हो ।
प्रतियोगितामा विजेता बन्ने टोलीले एक लाख एक हजार एक सय ११, द्वितीय बन्नेले ५१ हजार १ सय ५१ तथा सेमिफाइनलमा उपविजेता बन्ने दुई समूहले प्रतिसमूह १५ हजार रुपैयाँका दरले नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागततर्फ उत्कृष्ट खेलाडीलाई नगद तीन हजार रुपैयाँ सहित ट्रफी तथा उत्कृष्ट स्पाइकर, सर्भर, ब्लकर, लिबेरो, सेटर, प्रशिक्षक र उदीयमान खेलाडीलाई पनि पुरस्कृत गरिने क्लबले बताएको छ ।
कुश्मा नगरपालिका–१४ आर्थरमा रहेको पञ्चकोशी माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा सहभागी हुने समूहले कात्र्तिक पाँच र छ गतेसम्ममा नाम दर्ता गराउनुपर्ने र कात्र्तिक सात गते प्रतियोगिताको उद्घाटन गरिने अध्यक्ष शर्माले बताए ।
खेलमा सहभागिताको लागि खेलाडी सम्बन्धित वडाको हुनुपर्ने र वडाको प्रमाणित कागजात, नागरिकता, बसाइसराइको कागजात वा प्रमाणित हुने कागजात आवश्यक हुने, एक समूहमा खेलाडी नौ जना, टिम कोच र म्यानेजर सहित ११ जना हुन सक्ने क्लबले बताएको छ ।
विगतका वर्षहरूमा पनि वडाभित्र सहित बाहिरका समूहहरूको पनि उल्लेख्य सहभागिता रहँदै आएकोले यस वर्ष पनि उस्तै सङ्ख्यामा सहभागिता रहन सक्ने अध्यक्ष शर्माको भनाइ छ । खुल्ला वडा स्तरीय प्रतियोगिता भएकोले देशभरका जुनसुकै वडाबाट पनि सहभागी समूह आउन सक्ने र आफ्नो वडामा राष्ट्रिय खेलाडी भएमा आवश्यक प्रमाणसहित उनीहरू पनि सहभागी हुन पाउने उनले बताए । ‘देशभरबाट पनि वडागत रूपमा प्रतियोगितामा सहभागी हुन सकिन्छ ।
आफ्नो वडामा राष्ट्रिय खेलाडीहरू भएको भएमा आवश्यक प्रमाण पेस गरेपछि उहाँहरू पनि सहभागी हुन पाउनुहुन्छ’, उनले भने, ‘२०८१ सालमा आयोजना गरेको प्रतियोगितामा बाहिरका १७ र आर्थरका ३ टोली गरेर २० समूहबिच प्रतिस्पर्धा भएको थियो । अघिल्लो वर्षको प्रतियोगितामा १३ टिम भएका थिए । यस वर्ष बाहिरको १५ र वडाका ३÷४ गरेर १८ देखि वटासम्म समूह हुन सक्ने आङ्कलन गरिएको छ ।’
प्रतियोगिताको गत वर्षको संस्करणमा तनहुँको शुक्लागण्डकीबाट, द्वितीय आयोजक क्लबबाट र तृतीय स्याङ्जाको आँधिखोला गाउँपालिकाका समूह भएका थिए ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive