पर्वत : ठूलो आन्द्राको क्यान्सरबाट पीडित भई उपचाररत पर्वतको कुश्मा नगरपालिका–६ निवासी रामकृष्ण भण्डारीको उपचारमा सघाउन आर्थिक सहयोगको आह्वान गरिएको छ ।
लामो समयदेखि उपचाररत उनको थप उपचारका लागि आवश्यक रकम अभाव भएपछि परिवारजनले आर्थिक सहयोग गरेर भण्डारीलाई बचाउन सबैमा अनुरोध गरेका छन् । हालसम्म उपचारका क्रममा ठूलो रकम खर्च भइसकेको र उनको आर्थिक अवस्था कमजोर बन्दै गएकाले थप उपचारमा आवश्यक पर्ने खर्च जुटाउन कठिनाइ भएको परिवारले जनाएको छ ।
क्यान्सरको थप उपचारका लागि भारत जानुपर्ने अवस्था आएको भए पनि उपचारका लागि भारत जान तथा त्यहाँ आवश्यक उपचार गराउन पर्याप्त आर्थिक स्रोत नभएका कारण भण्डारी र उनको परिवार थप कठिन परिस्थितिमा परेको छ ।
कठिन समयमा पर्वतवासी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा शुभेच्छुकहरूसँग मानवीय सहयोगका लागि अपिल गरिएको छ । सहयोगी मनहरूले आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरी भण्डारीको उपचारमा साथ दिन परिवार तथा सहयोग अभियानमा संलग्न व्यक्तिहरूले आग्रह गरेका छन् ।
‘सानो सहयोगले पनि ठूलो आशा दिन सक्छ’ भन्ने भावनासहित सञ्चालन गरिएको सहयोग अभियानमा जोडिएर क्यान्सरपीडित भण्डारीको उपचारका लागि सहयोग गर्न आग्रह गरिएको छ । अभियानमार्फत संकलन हुने सहयोगले उहाँको थप उपचारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।
यो अभियानबाट रकम सङ्कलन भएमा भण्डारीलाई उपचारका लागि तत्कालै भारत लगिने छ ।
क्यान्सरपीडित भण्डारीको उपचार गर्न आर्थिक सहयोगको अपिल
अशोज ७, २०८३




