सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्वतमा लक्षितमध्येका ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो

अशोज १२, २०८३

पर्वत : पाठेघरको मुखको क्यान्सर विरुद्ध बालिकाहरूलाई दिइने खोप पर्वतमा लक्षितमध्येका ९९ प्रतिशतलाई लगाइएको छ ।

जिल्लाका सात वटा स्थानीय तहका कुल ८६३ जना बालिकाहरूलाई खोप लगाउने लक्ष्य राखिएकोमा ८५४ जनालाई शुक्रवारसम्म खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतकी सूचना अधिकारी सुमन शर्माले बताइन् । यो सङ्ख्या लक्षितमध्येको ९८ दशमलव ९५ प्रतिशत हो । खोपका लागि खटिएका स्वास्थ्यकर्मीहरू विद्यालय तथा समुदायमा पुगेर खोप अभियान सञ्चालन गरिरहेको भए पनि केही विद्यार्थी विद्यालयमा अनुपस्थित रहेको तथा केहीमा केही व्यक्तिगत समस्या भएकाले लक्षितमध्येका ९ जनालाई खोप लगाउन बाँकी रहेको उनको भनाइ छ ।

अभियानका क्रममा छुटेका बालिकाहरूलाई आउँदो सोमबार खोप लगाउने गरी तयारी भइरहेको अबको क्रममा ती सबै जनाले खोप पाउँदा जिल्लाका लक्षितमध्येका शत प्रतिशत बालिकाहरूले पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप पाउने जनस्वास्थ्य अधिकृत शर्माले बताइन् ।

मोदी गाउँपालिकाका १२८ जनामध्येका १२६ जनालाई, कुश्मा नगरपालिकाका लक्षित सबै २७९ जनालाई, महाशिला गाउँपालिका लक्षित सबै ४१ जनालाई, पैयूँ गाउँपालिकाका ८७ जनामध्येका ८१ जनालाई, फलेवास नगरपालिकाका १३१ जनामध्ये १२८ जनालाई खोप लगाइएको छ । जलजला गाउँपालिकामा भने लक्षितभन्दा एक÷एक जना बढीलाई खोप दिइएको छ । जलजलाका १२७ जना लक्षित गरिएकोमा १२८ जनालाई र बिहादी गाउँपालिकामा ७० जनालाई लक्षित गरिएकोमा ७१ जनालाई खोप लगाइएको छ । खोप लगाइएकामध्ये विद्यालय नजाने १० वर्ष उमेर पुगेका बालिकाहरूको सङ्ख्या जलजलामा पाँच जना, कुश्मामा सात जना, फलेवासमा तीन जना र बिहादीमा एक जना रहेका छन् । उनीहरूलाई जिल्लाका विद्यालयमा तोकिएका १२१ वटा र स्वास्थ्य संस्थामा तोकिएका ६१ वटा गरी १७२ खोप केन्द्रबाट खोप लगाइएको हो । जिल्लामा आएको खोपमध्ये खेर जाने दर शून्य रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कुल ८७१ खोप प्राप्त भएकोमा ८५४ खोप खर्च भएका छन् भने १७ थान स्वास्थ्य संस्थामा फिर्ता भएका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका कार्यालय प्रमुख बद्री आचार्यले पाठेघरको मुखको क्यान्सरको मुख्य कारण नै एच.पि.भी.को सङ्क्रमण हुनु भएको बताउँदै एच.पि.भी. भाइरस दुई सय भन्दा धेरै प्रजातिका हुने बताए । तीमध्ये हालसम्म मानव शरीरमा क्यान्सर गराउने जोखिम १२ प्रकारका प्रजातिहरूबाट हुने उनको भनाइ छ । सबैभन्दा बढी जोखिम प्रजातिहरू १६ र १८ रहेका छन् । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर एच.पि.भी. प्रजाति १६ र १८ बाट भएको देखिएको आचार्य बताउँछन् ।

एच.पि.भी. खोप अभियानका लागि जिल्लामा ‘फोकल पर्सन’ को रूपमा काम गरिरहेका नारायण रेग्मीले संसारमा हरेक वर्ष पाँच लाख ७० हजार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको र यो सङ्ख्या वृद्धि भएर सन् २०३० सम्ममा करिब सात लाख हुने अनुमान गरिएको तथ्याङ्कहरूलाई उद्धृत गर्दै बताए । यो रोगबाट हरेक वर्ष तीन लाख ११ हजार महिलाको ज्यान जाने गरेको र सन २०३० सम्ममा यो सङ्ख्या चार लाख पुग्ने अनुमान गरिएको उनको भनाइ छ ।

‘यो खोपको लक्षित समूह विद्यालयमा अध्ययन गर्ने कक्षा छ मा अध्ययनरत छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्षसम्म उमेरका किशोरीहरू हुन् । यो उमेर समूहका अधिकांश किशोरीहरू विद्यालयमा अध्ययन गर्ने भएकाले खोप सेवा मुख्यतः विद्यालय केन्द्रित छ,’ उनले भने, ‘महिलाहरूमा हुने विभिन्न प्रकारका क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सरको रूपमा रहेको देखिएको छ । विश्व स्वास्थ्य सङ्गठनको सन् २०२० को तथ्यांक अनुसार, संसारका ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामीहरू तथा मृत्यु हुने सङ्ख्या न्यून र मध्यम आय भएका देशहरूमा देखिएको छ ।’

नेपालमा हरेक वर्ष दुई हजार एक सय भन्दा बढी महिलालाई पाठेघरको मुखको क्यान्सर हुने र यसबाट हरेक वर्ष एक हजार तीन सय अर्थात् औसतमा प्रत्येक दिन चार जना महिलाहरूको मृत्यु हुने अनुमान गरिएको एच.पि.भी. खोप सेवा सञ्चालन निर्देशिका २०८१ मा उल्लेख छ ।

spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive