पर्वत : पर्वत जेसीजको संस्थागत पहिचान र राष्ट्रिय नेतृत्वमा प्रतिनिधित्व विस्तार गर्ने उद्देश्यसहित पर्वत जेसीज वर्ष २०२६ की अध्यक्ष शर्मिला शर्माले नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी छिन् ।
नेपाल जेसीज वर्ष २०२७ का लागि उनले राष्ट्रिय उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा दर्ता गराएकी हुन् । पर्वत जेसीजको तर्फबाट १३ वर्षपछि राष्ट्रिय नेतृत्वमा प्रतिनिधित्व गर्ने गरी उम्मेदवारी प्रस्तुत हुनुलाई संस्थाले गौरवपूर्ण अवसरका रूपमा लिएको बताएको छ । शर्माको उम्मेदवारीसँगै पर्वत जेसीजको संस्थागत पहिचानलाई राष्ट्रिय स्तरमा थप स्थापित गर्ने अपेक्षा छ ।
सन् २०१८ मा जेसीजको साधारण सदस्यका रूपमा आबद्ध भएर आफ्नो यात्रा सुरु गरेकी शर्माले विभिन्न पद तथा जिम्मेवारी निर्वाह गर्दै सन् २०२६ मा पर्वत जेसीजको अध्यक्ष बन्न सफल भएकी हुन् । जेसीज अभियानमा आबद्ध रहेर प्राप्त गरेको अनुभव, नेतृत्व क्षमता र संस्थागत सिकाइलाई अब राष्ट्रिय तहमा उपयोग गर्ने उद्देश्यले आफूले उम्मेदवारी दिएको शर्माले बताएकी छिन् ।
उनले आफ्नो उम्मेदवारीलाई कुनै एउटा पद प्राप्त गर्ने व्यक्तिगत आकांक्षाका रूपमा मात्र नभई संस्थाप्रतिको जिम्मेवारी, विश्वास र समर्पणलाई थप सशक्त बनाउने अभियान रहेको बताइन् । सदस्यहरूको नेतृत्व क्षमता विकास, शाखाहरूको संस्थागत सबलीकरण, युवाहरूको सक्रिय सहभागिता तथा आपसी एकता र सहकार्यलाई प्राथमिकतामा राखेर नेपाल जेसीजलाई थप सुदृढ, गतिशील र प्रभावकारी बनाउने आफ्नो प्रतिबद्धता रहेको उनको भनाइ छ ।
आफ्नो जेसीज यात्रामा साथ, सहयोग र मार्गदर्शन गर्ने अग्रज, पूर्वअध्यक्ष, समकालीन साथी, पदाधिकारी तथा सदस्यहरूप्रति आभार व्यक्त गर्दै शर्माले राष्ट्रिय यात्रामा पनि सम्पूर्ण जेसीजकर्मीको साथ र समर्थनको अपेक्षा गरेको बताएकी छिन् ।
शर्माको उम्मेदवारीलाई पर्वत जेसीजले संस्थागत गौरव, एकता र पहिचानसँग जोडेर हेरेको छ। १३ वर्षपछि राष्ट्रिय नेतृत्वमा पर्वतको प्रतिनिधित्व गर्ने अवसर सिर्जना हुनुलाई पर्वत जेसीजको आगामी संस्थागत यात्राका लागि पनि महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।
१३ वर्षपछि राष्ट्रिय नेतृत्वमा पर्वत जेसीजको दाबी, राष्ट्रिय उपाध्यक्षमा शर्मिला शर्मा भिड्ने
कार्तिक २३, २०८३




