मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

५३ वर्षपछि घर फर्केका टीकारामले ७८ वर्षमा पाए नागरिकता

साउन ३२, २०७८

पर्वत : पर्वतको महाशिला गाउँपालिका–५ लुँखुदेउरालीको आहाले गाउँका टीकाराम विश्वकर्माले ७८ औँ वर्षमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन्।

२५ वर्षको उमेरमा रोजगारीको सिलसिलामा भारत पसेका उनी विभिन्न ठाउँमा जागिर गर्दै गुहाटीमा पुगे। बिहे गरेर दुई सन्तान जन्माएपछि उनी भारत पसेका थिए। कान्छा छोरा अमरलाई ६ महिनाको छोडेर गएका थिए।

त्यो बेलामा सञ्चार माध्यमको विकास नभएका कारण बेलाबेलामा घर आउनु वा चिठी पठाउनु नै खबरको माध्यम थियो। तर नपढेका टीकारामले चिठी पनि पठाएनन्।

उनी भारत गएको करिब तीन वर्षमा श्रीमतीले घर छाडेर हिँडिन्। महाशिला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उचैका अनुसार टीकारामले गुहाटीमा नै अर्को बिहे गरेर उनीबाट तीन छोरा जन्मिए। तर बुढ्यौलीले च्याप्दैजाँदा उनलाई आफ्नै मातृभूमिको याद आयो। गाउँ सम्झिन थाले।

‘बुढेसकाल लागेपछि यही ठाउँको याद धेरै आयो। गाउँका सबैलाई सम्झिएर बसिरहन्थे। रातदिन घर परिवार, गाउँ सम्झिएर साह्रै आत्तिएँ’ फोनमा कुरा गर्दै टीकारामले भने, ‘अब म उता जान्न यतै बस्छु। गुहाटीमा पनि म अब नेपालमै बस्छु भनेर आएको हुँ।’

आफ्नो घर नेपालको लुंखुमा रहेको र आफूलाई त्यहाँ जान मन लागेको भन्दै नेपालकै पूर्वी जिल्ला घर भई गुहाटीमा बस्दै आएका एक जना नेपालीलाई टीकाराम नेपालमा सम्पर्क गर्न अनुरोध गरे।

तिनै पूर्वेली युवाले महाशिला गाउँपालिकाको सम्पर्क पत्ता लगाएर प्रवक्ता उचैलाई फोन गरे। उचैको समन्वयमा गुहाटीमा रहेका कान्छा छोरासहित लिएर उनी नेपाल आएका हुन्।

प्रवक्ता उचैका अनुसार नागरिकता नपाएका टीकारामलाई जाने बुझेका स्थानीय ९० वर्षीय पुरुष र ९३ वर्षीया महिलाको सनाखतको आधारमा उनले नागरिकताको प्रमाणपत्र पाएका छन्।

नागरिकता पाएसँगै उनलाई सामाजिक सुरक्षा भत्ता समेत उपलब्ध गराइएको छ। गाउँले र छोराले नै चिन्न नसक्ने अवस्थामा ५३ वर्षपछि घर फर्किएका टीकारामको परिवारमा पुनर्मिलन भएको छ।

spot_img
spot_img
spot_img

सम्वन्धित समाचार

spot_img
spot_img

भर्खरै

News Archive