साउन ३२, २०७८
पर्वत : शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (ए.सी.ई) पर्वत र कुश्मा नगरपालिका वडा नं. ७ को संयुक्त आयोजनामा शैक्षिक लगानी बृद्धि गर्ने विषयमा अन्तर सम्बाद कार्यक्रम सम्पन्न भएको छ।
‘गुणस्तरीय र निशुल्क शिक्षा सम्भव छ!’ भन्ने नारा सहित शैक्षिक बहस तथा अभियानहरु सञ्चालन गरिरहेको एनसीईले ‘शिक्षामा लगानि बृद्धिका लागि स्थानीय स्रोतको पहिचान’ शीर्षकमा कार्यक्रम गरेको हो। कार्यक्रममा नेपाल सरकारले शिक्षाका लागि दिने बजेटको आकार हरेक वर्ष घट्दै गइरहेको सन्दर्भ तथा विद्यालयलाई स्थानीय रुपमा पनि बलियो बनाउन लागि पनि लगानी बृद्धिको उपाय स्थानीय स्तरमै खोज्नको लागि कार्यक्रमको आयोजना गरिएको हो।

अन्तर सम्वाद कार्यक्रमा लगानी बृद्धि तथा खोजीका लागि स्थानीय स्तरमा हुन सक्ने सम्भावनाका रुपमा अभिभावक, गैह्र सरकारी संस्थाहरु, नागरिक संगठन, अक्षयकोष, छात्रावृत्ति कोष, पुरस्कार कोष, सामग्री सहयोग, विशेष अभियान, जन्मदिन, विबाह, ब्रतबन्ध लगायतका उत्सव, व्यक्तिगत सहयोग, भूतपूर्व विद्यार्थीहरुका अभियान, स्थानीय स्तरमा भएका प्राकृतिक स्रोत र साधन, मानव निर्मित बस्तुहरुबाट भएको आम्दानीको केही अंश लगायतका सम्भावनाहरुबाट शैक्षिक लगानीमा बृद्धि हुन सक्ने विषयमा छलफल भएको थियो।

कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले संघियता लागु भएसँगै शिक्षा क्षेत्रमा राम्रो सुधारका प्रयासहरु भइरहेको भए पनि बजेटको आकार भने घटेको बताए। शैक्षिक गुणस्तर कायम गर्न तथा बिद्यार्थीलाई टिकाईराख्नको लागि पुँजीगत खर्चमा आउने रकम बढी हुनुपर्ने भए पनि चालु खर्चमा आउने रकम धेरै भएका कारण बिशेष कार्यक्रमहरु सञ्चालन गर्न नसकिरहेको बताए। ‘चालु आर्थिक वर्षमा कुश्मा नगरपालिकाको ७५ करोड बजेटमध्ये शिक्षाका लागि मात्रै साढे २५ करोड राखिएको छ। तर त्यो मध्येको २४ करोड त तलबमै जान्छ, बाँकी रहेकोले के गर्न सकिन्छ?’ उनले भने, ‘पुँजीगत भन्दा चालु खर्च बढी भएका कारण विद्यालयमा नयाँ प्रबिधि सुरुवात गर्न, नयाँ संरचना निर्माण गर्न जस्तै अन्य काममा पनि समस्या भएको छ।’

वडा नं. ७ का अध्यक्ष सुवाचन्द्र पौडेलले सामुदायिक शिक्षाको सुधारको लागि आफू धेरै खटीरहेको भए पनि आसातित प्रगति हासिल गर्न भने असफल रहेको बताए। बिद्यालयको सुधारको लागि सबै पक्षको भूमिका बराबर हुनुपर्ने भए पनि वडाले चाहेको जस्तो प्रगति हासिल नभएको उनको भनाई छ। बिद्यालयमा गुणस्तर कायम गर्न सक्ने हो भने सहयोगदाताको कमी नहुनुका साथै बिभिन्न तरीकाबाट पनि आर्थिक, भौतिक र मानवीय स्रोत जुटाउन सक्ने उनको भनाई थियो।

कार्यक्रमका टिप्पणीकर्ता नारायण माध्यमिक विद्यालय कुश्मा पूर्व प्राधानाध्यापक पृथ्वीनारायण शर्माले राज्यले कुन कुरामा प्राथमिकता दिनुपर्ने हो? भन्ने कुरामा राज्य नै स्पष्ट हुनुपर्ने र त्यसको निर्विकल्प उत्तर शिक्षा नै हुने बताए। सुझबुझ भएको नागरिक तयार पार्नका लागि बालबालिको बौद्धिक र शारीरिक क्षमता राम्रो हुनुपर्ने भएकाले शिक्षामा गरिएको लगानीलाई पनि बिशेष गरी दुई वर्ष उमेरभित्रका बालकालिकाहरुलाई आवश्यक मात्रामा पोषण प्रदान गर्न खर्चिनुपर्ने उनको सुझाव छ। यस्तै समीक्षक नारायण माध्यमिक विद्यालयका पूर्व शिक्षक लिलाधर तिवारीले शिक्षकले जागिर खाइरहेको छु भन्ने सोचाईलाई त्यागेर सेवा भावका हिसावले २४ सै घण्टा बिद्यालयको काममा लाग्नुपर्ने बताए। शिक्षकहरु अझै पनि १० बजे बिद्यालय नपुग्ने गरेको र कतिपयले शैक्षिक सामग्री नबनाउने गरेको भन्दै तिवारीले त्यस्ता शिक्षकहरुले पेशा छाडेर अर्को जाँगरिलो मान्छेलाई मौका दिनुपर्ने बताए।

कार्यपत्र प्रस्तुत गर्दै एन.सी.ई. नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले कोरोना महामारीले बिद्यार्थीहरुलाई ‘डिजिटल डिभाइडेसन’ मा लगेको भन्दै चिन्ता व्यक्त गरे। देशभर रहेका २९ हजार ७ सय ७ बिद्यालयमध्ये १२ प्रतिशत अर्थात ८ हजार ३ सय ६६ विद्यालयमा मात्र आईसिटी टूल्सहरु उपलब्ध हुनेले कोरोना कहरमा शैक्षिक चुनौती झनै बढेको उनको भनाई थियो। देशको शिक्षालाई माथि उठाउन सरकारले मिहीनेत गर्नुपर्नेमा तीनै तहका सरकारहरु कहीँ न कहीँ चुकेको बताउँदै उनले सरकारको मात्र भर परेर बस्ने हो भने परिवर्तन सम्भव नभएको उल्लेख गरे। फरक क्षमता भएका, गरिब तथा सिमान्तकृत विद्यार्थीहरुले अहिलेको प्रबिधिमा आधारित शिक्षाको पहुँचमा नहुनु तथा सामामन्य अवस्थाकै करिब २ प्रतिशत बिद्यार्थीहरु शिक्षाको मूलधारबाट बाहिर रहनुले सबैका लागि शिक्षा सुनिश्चित नभएको पहाडीको भनाई छ।
कार्यक्रममा शिक्षक महेन्द्र उपाध्याय, पत्रकार संजय रेग्मी, महेन्द्र जि.सी र प्रदीप पौडेल, समाजसेवी डि.आर शर्मा, विद्यालय व्यवस्थापन सदस्य शान्ति चापागाईँ, गैह्र सरकारी संस्था महासंघ नेपाल पर्वतका उपाध्यक्ष जगन्नाथ शर्मा, गुप्तेश्वर बहुमुखी क्याम्पस प्राध्यापक संघका अध्यक्ष तोयनाथ उपाध्याय, वडा सदस्य परशुराम पुरी लगायतले पनि भनाई राखेका थिए।
वडाध्यक्ष सुवासचन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य एन.सी.ई नेपाल, पर्वतका सदस्य भीमबहादुर नेपालीले राखेका थिए। कार्यक्रमको सञ्चालन एन.सी.ई नेपाल, पर्वतका संयोजक यज्ञ प्रसाद शर्माले गरेका थिए।




