पर्वत : पर्वतका दुई पालिकाका ३ गाउँमा सञ्चालित मुख स्वास्थ्य परियोजना प्रभावकारी देखिएको छ । जिभाय नेपाल नामक संस्थाको सहयोगमा सञ्चालित कार्यक्रम प्रभावकारी बनेको र आगमी दिनमा थप सेवामुखी बनाएर लैजानुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।
जिल्ला परियोजना सल्लाहकार समितिको बैठकमा परियोजना सञ्चालित संस्थाले गत बर्ष गरेका कार्यक्रम र आगामी बर्ष हुदै गरेका कार्यक्रमको समिक्षा बैठकमा सरोकारवालाहरुले थप प्रभावकारी बनाएर अघि बढाउन जोड दिएका हुन् । संस्थाले हाल कुश्मा नगरपालिकाको वडा नं. ९ कटुवाचौपारी, वडा नं. १० पिपलटारी र मोदी गाउँपालिका ६ तिलाहारमा उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यी वडाहरुमा सञ्चालित २१ विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई प्रत्यक्ष रुपमा मुख स्वास्थ्य सम्बन्धि सेवा प्रवाह गरिरहेको संस्थाले उक्त समुदायका अभिभावकहरुलाई समेत मुख सम्बन्धि क्लीनिक सञ्चालन सँगै सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको जिल्ला परियोजना व्यवस्थापन मुना शर्माले बताउनुभयो ।
कार्यक्रममा बार्षिक कार्यक्रमको प्रतिबेदन प्रस्तुतिकरण गर्दै कार्यक्रम संयोजक सरस्वती पुरीले संस्थाले हरेक कार्यमा प्रभावकारिता सहितको सफलता हासिल गर्ने उद्देश्यले अघि बढिरहेको बताउनुभयो । उहाँले कार्यक्रमको बजेटमा कम देखिएपनि अन्य सचेतनामुलक कार्यहरु संस्थाको तर्फबाट प्रभावकारी रुपमा सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख मनोहर वि पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले सल्लाह सहितको सुझाव दिएका थिए । कार्यक्रमको सञ्चालन संस्थाका कार्यक्रम संयोजक श्रीधर आचार्यले गर्नुभएको थियो । संस्थाले विगत ३ बर्ष देखि पर्वतमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
शुक्रबार, अशोज १८, २०८१
Friday, October 4, 2024