भदौ १३, २०७८
पर्वत : पूर्व युवराज पारस शाहको क्यारीकेचर गर्दै ताप्लेजुङका भरतमणि पौडेल कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को अन्तिम तीनमा पर्दै फाइनलमा प्रवेश गरेका छन् ।
शनिवार राती प्रशारण भएको ‘कमेडी च्याम्पियन’ सिजन टु को ३४ औँ श्रृङखलामा पारस शाहकै जस्तै स्वरूपमा स्टेजमा देखा परेका उनले आफ्ना अरू तीन प्रतिस्पर्धीहरू बिकी अग्रवाल, सन्तोष थापा र हिकमत महरालाई पछाडि पारेर ‘पफर्मर अफ द राउन्ड’ बन्दै फाइनल यात्रा तय गरेका हुन् । शोमा पहिलेबाट नै बलियो दाबेदारको रूपमा आफूलाई उभ्याउँदै आएका पौडेलले शनिवारको श्रृङ्खलामा पारस शाहकै जस्तै गेटअपमा उनकै बोली र लवजको बलियो प्रस्तुति पस्केका थिए । जसका कारण उनी दर्शक र जज प्यानलको रोजाइमा पर्दै सिधै अन्तिम तीनमा परेका हुन्। तत्कालीन दरिबारिया शैली हुँदै वर्तमान राजनीतिक अस्थिरताबारे व्यङ्ग्य गरेका उनले दर्शकको भरपुर माया पाएका थिए ।
‘कमेडी च्याम्पियन’ मा अन्तिम तीन प्रतिस्पर्धीहरूको टुङ्गो लागेपछि दर्शकको मतको आधारमा विजेता घोषणा गर्ने गरिएको छ । अहिले शोमा चार जना प्रतिस्पर्धी रहेकोले आगामी शृङ्खलाबाट एक जना ‘कमेडीयन’ जनताको भोटको आधारमा बाहिरिने छन् । भरतमणि ‘पफर्मर अफ द राउन्ड’ बनेका कारण उनले अन्तिम तीनको यात्रा पक्का गरिसकेपछि बाँकी रहेका ‘कमेडीयन’ हरू बिकी अग्रवाल, सन्तोष थापा र हिकमत महरा मध्ये एक जना बाहिरिने छन् ।
भरतमणि ‘कमेडी च्याम्पियन’ को विजेता बनेमा आयोजकको तर्फबाट दिइने विभिन्न पुरस्कार त पाउने नै छन् नै, यदि विजेता बन्न सकेनन् भने पनि शो सकिँदा साथ नगद छ लाख रुपैयाँ आयोजक बाहिरबाट नै प्राप्त गर्नेछन् । पौडेललाई गृह जिल्ला ताप्लेजुङका सांसद तथा पूर्व मन्त्री योगेश भट्टराईको संयोजनमा पुरस्कार घोषणा गरिएको हो । पुरस्कारका लागि सांसद भट्टराईले व्यक्तिगत रूपमा एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
शो को विजेताले नगद २५ लाख रुपैयाँ सहित कार पाउने आयोजकले बताउँदै आएको छ । ‘कमेडी च्याम्पियन’ सिजन वानको विजेता हिमेश पन्त बनेका थिए ।
बुधबार, अशोज २, २०८१
Wednesday, September 18, 2024