बिहिबार, माघ १०, २०८१
Thursday, January 23, 2025

काबुल विमानस्थल तालिवानको कब्जामा, फर्कियो अमेरिकी सेनाको अन्तिम फौज

काठमाडौं :  अमेरिकाको सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्ना फौज फिर्ता गरेको छ। काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको छ।

उक्त फौज फिर्ती अभियानको सुपरिवेक्षण गरेका जनेरल फ्र्याङ्क मकेन्जीले अमेरिकाले पछिल्ला केही सातामा झन्डै ८० हजार व्यक्तिको उद्धार गरेको जानकारी दिए। अमेरिकी सेनाका सेन्ट्रल कमाण्डका प्रमुख जनरल मकेन्जीले भने  ‘हमिद कारजाइ अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तिम सी सेभेन्टीन विमान उडेको छ। योसँगै सैन्य उद्धारको पाटोका साथै २० वर्षदेखिको अफगानिस्तान मिसन समाप्त भएको छ। जुन मिसन सन् २००१ को सेप्टेम्बर ११ लगत्तै सुरु भएको थियो र जस अन्तर्गत ओसामा विन लादेन तथा उनका थुप्रै अल कायदा षडयन्त्रकारीहरूमाथि कारबाही भएका थिए।’

उनले अफगानिस्तानमा अमेरिकी उपस्थितिका कारण उच्च मूल्य चुकाउनुपरेको र दुई दशकमा २४ सय जना अमेरिकी सुरक्षाकर्मीले ज्यान गुमाएको बताए। अन्तिम अमेरिकी विमान बाहिरिएसँगै, तालिबानहरूले काबुलको रात्रिकालीन आकाशमा रातो प्रकाश छरेर अनि मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएका थिए। यसअघि नै अमेरिकी राष्ट्रपति जो बाइडनले अगष्ट ३१ भित्र अमेरिकाबाट फौज फिर्ता गर्ने बताएका थिए।

पछिल्लो दुई हप्ताभन्दा थोरै बढी अवधिमा अमेरिकी, अरू विदेशी र अफगान गरी लगभग १ लाख २० हजार जनालाई उद्धार गरिएको थियो। यसैबीच अमेरिकी राष्ट्रपति बाइडनले फौज फिर्तीबारे अमेरिकी जनतालाई सम्बोधन गर्दैछन्। गत बिहीबार इस्लामिक स्टेट खोरोसान समूहको आक्रमण बेहोरेको काबुल विमानस्थलमा सोमबार पनि बारम्बार रकेट हमला गरिएका थिए।

अमेरिकी सेनाले गरेको एउटा ड्रोन आक्रमणमा आइतबार ६ बालबच्चा सहित १० जना मारिएको उनीहरूका आफन्तहरूले बताइरहेका छन्। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले विमानस्थलका गैरसैनिकमाथि हुनसक्ने आक्रमण रोक्न आफूले ड्रोन हमला गरेको जनाएका थिए।  तर हाल तोकिएको समयसीमाभित्र उद्धार हुन नसकेका व्यक्तिहरूको कूटनीतिक ढङ्गबाट उद्धार प्रयास जारी राखिने उनले उल्लेख गरे। अन्तिम अमेरिकी फौज फर्किएपछि प्रतिक्रिया दिँदै तालिबानका एकजना प्रवक्ताले अफगानिस्तानले पूर्ण रूपमा स्वतन्त्रता हासिल गरेको बताएका छन्।

चार करोड जनसङ्ख्या भएको अफगानिस्तानमा नयाँ अनिश्चित अध्याय सुरु भएको छ। अमेरिकाको सर्वाधिक लामो युद्ध अन्त्य भएको भएपनि अफगानहरूको दैनिक सङ्घर्ष अन्त्य भएको छैन। कैयौँ अफगानहरू तालिबानबाट बदलाभाव राखिने भन्दै चिन्तित छन्।

spot_img
spot_img

सम्वन्धित समाचार

भर्खरै

News Archive