भदौ २४, २०७८
पर्वत : एक सातादेखि अवरुद्ध रहेको मध्यपहाडी लोकमार्गको अन्तर्गत पोखरा–बागलुङ सडक खण्ड बिहीबार साँझदेखि सञ्चालनमा आएको छ ।
गत भदौ १७ गते राती भएको भीषण वर्षापछि पर्वतको कुश्मा नगरपालिका–८ चुवादेखि मोदी गाउँपालिका–५ को साढे आठ किलोमिटर लम्बाइमा २० वटा पहिरो झरेपछि सडक अवरुद्ध भएको थियो । मध्यपहाडीको पर्वत खण्डको काम गरिरहेको लामा कन्स्ट्रक्सन, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको प्रयासबाट आज साँझदेखि बाटो सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बताउनुभयो । एक साता लामो प्रयासपछि एकतर्फी रूपमा मात्रै बाटो खुलाउन सकिएको भए पनि सवारीको दोहोरो ओहरदोहरका लागि भने अझै लामो समय लग्ने भएको छ ।
बाटो सुचारु भएपछि मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतबाट बाहिरिने तथा यी चार जिल्लामा भित्रिने सवारीहरू गन्तव्यतर्फ लागेका छन् । बाटो बन्द हुँदा साबिकको धौलागिरिका चारै जिल्लाका सवारीहरू छुटेका थिएनन् भने भित्रिन आएका सवारीहरू जिल्लाको मोदी गाउँपालिका–५ पातिचौरमा रोकिएका थिए ।
बाटो सञ्चालनमा ल्याउनको लागि लामा कन्स्ट्रक्सनले पहिरोका विभिन्न ठाउँबाट सात वटा एक्स्काभेटर प्रयोग गरेको थियो । तर पहिरोसँगै आएका विशाल ढुङ्गालाई हच्काउन समेत नसक्दा नेपाली सेनाले लगातार तीन दिनसम्म विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाएपछि बाटो सञ्चालनमा आएको हो ।
अन्यत्रको पहिरो मसिनको प्रयोग गरेर पन्छाउन सकिएको भए पनि मोदी गाउँपालिका–५ को भ्याप्ले नजिकैको भागमा सबैभन्दा बढी समस्या भएको थियो । तीन दिनसम्म सेनाले विस्फोट गराएपछि मात्रै एक्स्काभेटरले बाटो सफा गर्न सकिने अवस्था बनेको नेपाली सेनाको केबलजंग गुल्म पर्वतका गुल्म पति सेनानी शमशेर बहादुर सिंहले बताए । ढुङ्गा फुटाउनको लागि पर्वतमा विस्फोटक पदार्थ नभएकोले म्याग्दीबाट ल्याएर विस्फोट गराइएको हो । यो बिचमा पैदल यात्रा गर्दै आएका धेरै नागरिकलाई सुरक्षाकर्मीहरूको सहयोगमा गन्तव्यमा पठाइएको पनि सेनानी सिहंले बताए ।
सडक अवरुद्ध हुँदा सवारी भएकाहरूले पोखरा–वालिङ–कार्कीनेटा–कुश्मा हुँदै वैकल्पिक सडक प्रयोग गरेको भए पनि यो खण्ड निकै लामो थियो। लामो यात्रा तय गर्न नसक्नेहरुले पोखराबाट पातिचौरसम्म सवारीमा आएर त्यहाँबाट करिब दुई घण्टाभन्दा बढी समय पैदल यात्रा गरी चुवामा निस्केर कुश्मा बजारसम्म आउने गरेका थिए । आकस्मिक अवस्थामा जानु परेका कतिपयले पनि चुवाबाट हिँडेरै पातिचौर पुगेर सवारीमार्फत पोखरा पुगेका थिए ।
मध्यपहाडीको पर्वत खण्ड साबिकको धौलागिरिको एक मात्र कालोपत्रे, सहज र छोटो सडक हो । यो सडक अवरुद्ध हुँदा मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा दैनिक उपभोग्य सामग्री, तरकारी तथा फलफूल र पेट्रोलियम पदार्थको अभाव हुँदा सामग्रीको अभाव हुनुका साथै तरकारी र फलफूलको मूल्य आकासिएको थियो ।
बिहिबार, मंसिर २७, २०८१
Thursday, December 12, 2024