काठमाडौँ । अफगानिस्तानमा तालिबानले पत्रकारलाई कुटेका छन् । तालिबानको विरोधमा महिलाहरुले गरेको प्रदर्शनलाई कभर गरिरहेका स्थानीय पत्रकारलाई तालिबानले कुटपिट गरेर रगताम्य बनाएको तस्वीर सामाजिक संजालमा सार्बजनिक भएको छ ।
बीबीसीका अनुसारकाबुलको इटिलाट्रोज पत्रिकाका दुई पत्रकार टाकी डारयाबी र फोटो पत्रकार नेमातुल्लाह नाकबीलाई तालिबानले कुटपिट गरेका हुन् ।
महिलाहरुले गरेको प्रदर्शनको कभरेज गरिरहेका बेला उनीहरुलाई स्थानीय प्रहरी चौकीमा लगेर कुटिएको उनीहरुले बिबिसीलाई बताएका छन् । कुटपिट पछि बिना कुनै जानकारी उनीहरुलाई तालिबानले छोडिदिएको बताइएको छ ।
तालिबान लडाकुले महिलाको प्रदर्शनको तस्वीरलाई क्यामराबाट हटाईदिएको बताए । आफुहरुलाई किन पिटेको भनेर सोध्धा एक तालिबान लडाकुले तिमीहरु भाग्यमानी छौ की तिमीहरुको टाउको चुडाइएको छैन भन्ने जवाफ दिएको उनीहरुले बताएका छन् ।
त्यस्तै अफगानिस्तानको टोलो न्युजले पनि आफ्नो क्यामराम्यानलाई तालिबानले तीन घटना भन्दा बढी हिरासतमा लिएको बताएको छ ।
पछिल्लो दुई दिनमा अफगानिस्तानमा १४ पत्रकारलाई हिरासतमा लिएर छोडिएको अन्तर्राष्ट्रिय गैर सरकार संस्था द कमिटी टू प्रोटेक्ट जर्नालिष्टले जानकारी दिएको छ ।