काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आउँदाे महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गर्नुभएको छ ।
वीपी स्मृति दिवसको अवसरमा आज बिहीवार काठमाण्डौको सुन्दरीजल पुग्नुभएका शर्माले महामन्त्रीमा उम्मेदवारीकाे घोषणा गर्नुभएको हो । यसअघि कांग्रेसका नेता गगन थापा र प्रदीप पौडेलले पनि महामन्त्रीमा उठ्ने बताइसक्नु भएको छ ।
तीन वटा चुनाव लगातार जितेर १५ वर्षमा देश बनाउने वीपी कोेइरालाको परिकल्पनालाई सम्बोधन गर्न पनि आफूले पार्टीभित्रका सबै नेता र कार्यकर्ताको साथ, सहयोग र समर्थन पाएर पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने योजना बनाएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रवक्ता शर्माले एउटा चुनाव जित्ने, अर्को चुनाव हार्ने निरन्तरको शृङ्खला कांग्रेसको रहेको स्मरण गराउँदै त्यसले देश नबन्ने र त्यसको भागिदार कांग्रेस हुनुपर्ने अवस्था आउन नदिन पनि आफूले पार्टीलाई महामन्त्रीको जिम्मेवारीमा रहेर हाँक्न चाहेको बताउनुभयो ।
उहाँले देश निर्माण गर्ने गरी साझा दृष्टिकोणका साथ अघि बढ्न पनि सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गर्नुभयो । कम्युनिस्टहरूलाई गाली गरेर नभइ नेपाली नागरिकमा विद्यमान रोग र भोकको समस्या समाधान गरेर कांग्रेस अघि बढ्नुपर्नेमा उहाँको जोड छ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि अहिले वडा अधिवेशन चलिरहेको छ । महाधिवेशन मङ्सिर ९ देखि १३ सम्म काठमाण्डौमा हुँदैछ ।





