भदौ २९, २०७८
पर्वत : ४४ औँ बाल दिवसको अवसर पारेर पर्वतमा जिल्ला स्तरीय कविता लेखन प्रतियोगिता सम्पन्न भएको छ।
शिक्षाका लागि राष्ट्रिय अभियान (एन.सी.ई) नेपाल, पर्वत, नेपाल बाल संगठन अन्तर्गत जिल्ला कार्यसमिति पर्वत र सामाजिक विकास कार्यालय पर्वतको संयुक्त आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो। मोदी गाउँपालिका र कुश्मा नगरपालिकाका १५ जना प्रतिस्पर्धीको सहभागिता रहेको प्रतियोगितामा आदर्श अंग्रेजी आवासिय माध्यमिक विद्यालय कुश्माकी भावना सुवेदी प्रथम, सार्वजनिक माध्यमिक विद्यालय कटुवाचौपारीकी निशा तिवारी दोस्रो, कालीगण्डकी एकेडेमी कुश्माकी प्रशन्ना रेग्मी चौथो र जनक माध्यमिक विद्यालय थुमकी बिन्दु लामिछाने तथा आदर्श अंग्रेजी आवासिय माध्यमिक विद्यालयकी प्रेक्षा थापा सन्त्वना स्थानमा आएका छन्।
प्रतियोगितामा सहभागी भएपछि तत्कालै कविताको शीर्षक उपलब्ध गराइएकोमा बिद्यार्थीहरुले बाल अधिकार बिभिन्न पक्षबारे कविताबाट नै प्रसंगहरु निकालेका थिए। बिजेता बनेका तथा सहभागीहरुलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर बी पौडेलले बालबालिकाको भबिष्य राम्रो भएमा मात्र देश र पुरानो पुस्ताको भविष्य राम्रो हुने बताए। बालबालिकाको अधिकारको पक्षमा बहस गरिरहेको बेलामा बालबालिकाहरु नै जोखिमका काममा रहनु दुःखद पक्ष भएको उनको भनाई छ। बालबालिकाका लागि शिक्षा, पोषण, वातावरण, माया लगायतका आधारभूत कुराको कार्यान्वयन भएमा मात्र उनीहरुको सर्वाङ्गीण विकास हुने बताउँदै पौडेलले उनीहरुको लागि सुरक्षा नभई नहुने आवश्यकता बनेको उल्लेख गरे।
प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जन्मिएपछि जन्मदर्ताको प्रमाणपत्र त समयमै नबनाइएको बेलामा बालअधिकारको रक्षा हुने कठिन कुरा रहेको बताईन्। नेपालको संबिधानमा बालअधिकारको बारेमा राम्रा कुराहरु लेखिएको भए पनि त्यसको व्यवहारिक कार्यान्वयन नभएसम्म अधिकारको सुरक्षा नहुने उनको भनाई छ। अर्को प्रसंगमा उनले बालबालिकाका अधिकारका मुद्धा मात्र नउठाई उनीहरुलाई दायित्वबोध गराउँदै देशलाई माया गर्ने नागरिक बनाउनुपर्ने आवश्यकता रहेको औँल्याइन्। कुनै बेला कोरियालाई आर्थिक सहयोग गर्ने नेपालको अवस्थाबारे बताउँदै उनले यो बीचमा कोरिया शक्ति राष्ट्र बन्न सक्नुको कारण शिक्षा र बालबालिकाको क्षेत्रमा गरिएको लगानी भएको उल्लेख गरिन्।
यस्तै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले बालबालिकाहरुको पहिलो विद्यालय घर हुने भएकोले असल खराब सङ्गत र पालना गर्ने संस्कारको बारेमा घरबाट नै बारम्बार प्रशिक्षण र निगरानी हुनुपर्ने बताए। होटल, उद्योग, यातायात लगायतका क्षेत्रमा अझै पनि बालश्रमिकहरु रहेको बताउँदै उनले बालबिबाह, बालआत्महत्या र बलात्कारका घट्नाले झनै बालबालिकालाई जोखिममा पारेको उल्लेख गरे।
शिक्षा विकास तथा समन्वय इकाई पर्वतका प्रमुख उद्धीमराज पौडेलले देशको कुल जनसंख्याको ४४ प्रतिशत बालबालिका रहेको र त्यसको १७ प्रतिशत बाल श्रमिकहरु रहेको तथ्याङ्कले नेपालमा बालबालिकाहरुको अवस्थाका बारेमा प्रस्ट पारेको बताए। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका केन्द्रिय उपाध्यक्ष राजेन्द्र पहाडीले बालबालिकाहरु भबिष्यका कर्णधार मात्र नभई वर्तमानका साझेदार समेत रहेको बताउँदै कुन पनि प्रकोपको बेलामा शिक्षालाई अबरुद्ध भए पनि सिकाई अबरुद्ध हुन नहुने उल्लेख गरे।
नेपाल बाल सङ्गठन जिल्ला कार्यसमिति पर्वतका सभापति अर्जुन पौडेल ‘निर्जन’ ले बालबालिकाको क्षेत्रमा काम गर्न खोज्दा समेत स्थानीय सरकारहरु त्यसमा तत्पर नभएको देख्दा दुःख लागेको बताए। बजेट विनियोजनको बेलामा बालबालिकाको शीर्षकमा बजेट देखाउने गरेको भए पनि त्यो खर्च नगरी आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरेर विकास बजेटमा खर्च गर्नुले बालबालिकाको विकासको पक्षमा स्थानीय सरकारहरु नरहेको देखिएको उनको भनाई छ। बालबालिका केन्द्रित मुद्धा वा अन्य क्रियाकपालमा पनि बालबालिकाको क्षेत्रमा काम गर्दै आएका सरोकारवाला संस्थाहरुको उपस्थिति रहने हो भने न्याय र व्यवस्थापनका लागि सहज हुने पौडैलले बताए।
सोही अवसरमा नेपाल बाल सङ्गठन जिल्ला कार्यसमिति पर्वतको तर्फबाट बाल मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत पाँच जना बालकालिकाहरुको लागि झोला सहितका स्टेशनरी सामग्री र अन्य बिद्यार्थीहरुको लागि स्टेशनरी सामग्रीहरु हस्तान्तरण गरिएको थियो।
बाल सङ्गठन जिल्ला कार्यसमिति पर्वतका सभापति ‘निर्जन’ कै अध्यक्षतामा भएको कार्यक्रमको संचालन एनसिई नेपाल, पर्वतका संयोजक यज्ञ प्रसाद शर्माले गरेका थिए। कार्यक्रममा स्वागत मन्तब्य आयाेजक संस्थामध्येकाे एक सामाजिक विकास कार्यालय पर्वतका प्रमुख माेहनचन्द्र सुवेदीले राखेका थिए। त्यस अवसरमा उनले नेपालमा बाल दिवस मनाउन कसरी सुरु गरियाे भन्ने बारेमा जानकारी राखेका थिए।
बाल दिवसको अवसरमा जिल्ला स्तरीय कविता लेखन प्रतियोगिता
भदौ २९, २०७८
