असोज ५, २०७८
पर्वत : ‘मेरो गणना : मेरो सहभागीता’ भन्ने नाराका साथ भइरहेको देशको १२ औँ तथा संघियतापछिको पहिलो जनगणनाका लागि पर्वतका गाउँ गाउँमा सुपरीवेक्षकहरुले तथ्याङ्क संकलन गरिरहेका छन्।
जनगणनाका विभिन्न चरणहरु अन्तर्गत फिल्डमा नै गएर गर्नुपर्ने काम सुपरीवेक्षकहरुबाट सुरु भएको हो। जसका लागि जिल्लामा कुल ६१ जना सुरीवेक्षकहरुले पहिलो चरणको सर्वेक्षण गर्ने काम गरिरहेको जिल्ला जनगणना अधिकृत ज्योती के.सी ले जानकारी दिईन्। उनका अनुसार कुश्मा नगरपालिकामा २२ जना, मोदी गाउँपालिकामा ८ जना, जलजला गाउँपालिकामा ८ जना, पैयूँ गाउँपालिकामा ५ जना, फलेवास नगरपालिकामा ९ जना, महाशिला गाउँपालिकामा ४ जना र बिहादी गाउँपालिकामा ५ जना सुपरीवेक्षकहरु खटीएका छन्।
‘अहिले सुपरीवेक्षकहरुबाट सूचीकरणको काम भइरहेको छ। यो चरणमा घर, परिवार, कृषि, पशुपंक्षी लगायतको बारेमा २५ वटा प्रश्नावलीहरु नागरिकका लागि सोधिन्छन्। यो काम अहिले चलिरहेको छ भने असोज १८ गते सूचीकरणको काम सकिन्छ’ उनले भनिन, ‘गणकको काम त सुरु नै भएको छैन्। पहिले सूचीकरणको काम पूरा गरेपछि मात्रै गणकहरुको लागि तयारी हुन्छ। गणकहरु जाने बेलामा व्यक्तिलाई ५५ वटा प्रश्नावलीहरु सोधिन्छन्।’
सहायक जिल्ला जनणना अधिकृत दीपक सुवेदीका अनुसार सोमबार कुश्मा नगरपालिका–५ का केही स्थानहरुमा जिल्ला जनगणना कार्यालयको तर्फबाट अनुगमन समेत गरिएको थियो। कार्यक्षेत्रमा पुग्दा सुपरीवेक्षकहरुले समस्या भोगेको हुन सक्ने भएमा त्यसको समाधान गर्ने र प्रश्नावलीको क्रममा कुनै समस्या आएको भएमा नागरिककै दैलोबाट त्यसको समाधान गर्नका लागि अनुगमन गरिएको हो। अहिलेसम्मको अवस्थामा प्रश्नावली र गणनाको प्रक्रियाको बारेमा कुनै पनि समस्या नआएका कारण जिल्लामा जनगणनाको प्रक्रिया कुशलतापूर्वक चलिरहेको उनको भनाई छ।
शुक्रबार, माघ ४, २०८१
Friday, January 17, 2025