असोज ३, २०७८
पर्वत : मुस्लिमहरूले अल्लाहको प्रार्थना गर्ने र नमाज पढ्ने ठाउँ मस्जिद हो। जहाँ छिर्न सेतो दौरा र टाउकोमा सेतो टोपी लगाएकै हुनुपर्छ। त्यो पोसाकमा नहुने हो भने मस्जिदमा छिर्नै पाइँदैन, यो मुस्लिम समुदायको कट्टर नियम पनि हो। तर पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको मस्जिदमा त्यो पालना हुँदैन।
मुस्लिम समुदायका बालबालिकाहरूलाई धार्मिक शिक्षा दिन तथा उनीहरूलाई उर्दू भाषा अध्यापन गराउने ठाउँ मदरसा हो। तर मदरसा नभएका कारण सदरमुकाम कुश्मामा बसोबास गर्दै आएका मुस्लिम समुदायका बालबालिकाहरूलाई मस्जिदमा नै राखेर पठनपाठन गर्ने गरिएको छ। विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता भएकोले मस्जिदमा राखेर भए पनि अध्यापन गराइएको हो।
‘मस्जिदमा प्रार्थना गर्न आउने हो। यहाँभित्र छिर्नको लागि निश्चित पोसाक ताकिएको हुन्छ। तर यहाँ मदरसा नहुँदा मस्जिदमा नै कक्षा चलाउनु परेको छ। हामीलाई सहयोग गर्न आउने तथा अनुगमन गर्न आउने मान्छे हाम्रो पोसाकमा आउने कुरा पनि हुँदैन’ मौलाना (शिक्षक) मोहम्मद अकबर अलि भन्छन्, ‘हामीहरू थोरै सङ्ख्यामा भएका कारण पनि होला कसैले वास्ता नगरेको। सरकारले हामीलाई हेरिदिए हुने हो।’
२०६८ सालमा कक्षा एकबाट पठनपाठन सुरु गर्न अनुमति पाएको भए पनि कक्षा चढाउने गरी समेत पठनपाठन हुन सकेको छैन। मस्जिदमा ५८ जना बिद्यार्थीहरु नियमित रूपमा अध्ययनको लागि आउने गरेका छन्। बिहान र बेलुका दुई समयमा आउने विद्यार्थीहरूलाई उर्दु भाषाको अध्यापन गराइन्छ तर कक्षा चढ्ने भन्ने चाहिँ हुँदैन।
मुस्लिम सेवा समितिका सचिव अस्गर अलि मियाले आफूहरू कुश्मामा अल्पसङ्ख्यक भएका कारण नै कसैको ध्यान मुस्लिमको समस्यामा नगएको बताउँदै मुस्लिम समुदाय मदरसा नभएकोदेखि अन्य थुप्रै समस्यामा रहेको बताउँछन्। ‘नगरपालिकाले वर्षको एक पटक एक लाख रुपैयाँ दिने गरेको छ। त्यसले त शिक्षकलाई छ महिनाको तलब पनि पुग्दैन, हामीले चन्दा उठाएर मौलानालाई दिने गरेका छौँ’ मियाले भने, ‘हामीलाई मस्जिद बाहिर छुट्टै ठाउँमा मदरसा र त्यहाँ स्थायी रूपले पढाउने एक जना शिक्षक चाहिएको छ।’
कुश्मा नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले भने नगरपालिकाले मदरसामा सहयोग गर्ने चाहना राखेको भए पनि मदरसा सञ्चालनका लागि सरकारले तोकेका मापदण्डहरू पूरा नभएका कारण सबै काम गर्न नसकिएको बताए। विद्यालय सञ्चालनका लागि कुश्मा नगरपालिकाको तर्फबाट वार्षिक एक लाख रुपैयाँ नियमित अनुदान दिँदै आएको र गत आर्थिक वर्षमा थप दुई लाख ४१ हजार रुपैयाँ दिइएको उनको भनाई छ। ‘६८ सालमा अनुमति पाएको विद्यालय अहिले पनि उस्तै किन? किनकि राज्यले तोकेका मापदण्ड र नीति पूरा गरेपछि अन्य विद्यालयले पाउने जस्तै गरी अनुदान पाउन सकिन्छ।’ उनी भन्छन्, ‘विद्यालयको नाम के हो भन्ने थाहा छैन, विद्यालयको नाम भएको होर्डिङ बोर्ड छैन, लेटर प्याड र छाप पनि छैन। बिहान र बेलुका आफ्नो तरीकाले यहाँ पढाई भएको छ। तर १० देखि ४ बजेसम्म पढाई हुनुपर्छ।’
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमान सिङ गुरुङ पनि मदरसालाई अहिलेकै अवस्थामा राख्ने वा विद्यालय जसरी अगाडि बढाउने भन्ने कुरा मुस्लिम समुदायको निर्णयमा भर पर्ने बताउँछन्। अगाडि बढ्ने हो भने राज्यले मदरसाका लागि तयार पारेको पाठ्यक्रम अनुसार कक्षा सञ्चालन गर्दै अरू मापदण्ड पनि पूरा हुने र मस्जिदबाट मदरसा हटाउने हो भने कुश्माबासी सबैको सहयोग आवश्यक हुने उल्लेख गरे।
कुश्माको मदरसामा अध्ययन गर्दै आइरहेका बिद्यार्थीहरु बिहान–बेलुकाको समयमा उर्दू भाषा सिक्ने दिउसोको समयमा कोही सामुदायिक त कोही निजी विद्यालयमा अध्ययन गर्दै आइरहेका छन्। पर्वतमा दुई ठाउँमा मात्र मदरसा छन्। कुश्माको बाहेक जलजला गाउँपालिकाका वारी बेनीमा रहेको छ। वारी बेनीको मदरसा व्यवस्थापनका लागि म्याग्दी सदरमुकाम बेनी बजारमा बस्दै आएका मुस्लिम समुदाय समेत लागि परेका कारण त्यहाँ भने समस्या देखिएको छैन।
thahakhabar