पर्वत : कक्षा ८ को अन्त्यमा लिने आधारभूत तह परीक्षामा कुश्मा नगरपालिकाका करिब ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
नगरपालिकाका २७ ओटा विद्यालयबाट ६ सय १३ जना विद्यार्थीहरूले परीक्षा दिएकोमा ३ सय ९२ जना उत्तीर्ण भएका आधारभूत तह परीक्षा समितिका संयोजक तथा नगरपालिकाको शिक्षा शाखाका प्रमुख विष्णुप्रसाद तिवारीले बताए । सहभागीमध्ये १ सय ८३ जना १ वा २ विषयमा ‘नन ग्रेड’ मा रहेकाले उनीहरू पुन ‘ग्रेड’ वृद्धि परीक्षामा सहभागी हुनुपर्ने भएको छ । यस्तै ३८ जना विद्यार्थीहरू ३ वा ३ भन्दा बढी विषयमा ‘नन ग्रेड’ मा रहेकोले उनीहरूले कक्षा दोहो¥याउनुपर्ने भएको छ ।
प्रकाशित नतिजा अनुसार २ ओटा विद्यालयहरूले सत प्रतिशत नतिजा ल्याएका छन् । कुश्माको सहिद स्मारक आवासीय मा.वि.बाट परीक्षामा सहभागी भएका २० जना तथा कटुवाचौपारीको आइबल एकेडेमीका १३ जना गरी सबै उत्तीर्ण भएका छन् । तेस्रो नम्बरमा भने नुवार सुवेदीथर मा.वि.बाट ९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै कालिका मा.वि.बाट ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। पालिकाभरमा एक जना विद्यार्थीले मात्रै ४ जिपिए प्राप्त गरेका छन् । उनी कुश्माको नारायण माध्यमिक विद्यालयका राजीप पौडेल हुन् ।
कुनै २ विषयमा ‘नन ग्रेड’ मा परेका विद्यार्थीहरूलाई ‘ग्रेड अपग्रेड’ को मौका दिनका लागि वैशाख ७ गतेबाट १४ गतेसम्म परीक्षा सञ्चालन गरिने पनि संयोजक तिवारीले बताए । गत चैत ८ गतेदेखि सुरु भएको परीक्षाका लागि प्रश्नहरू राष्ट्रिय परीक्षा बोर्ड र नगरपालिकाको तर्फबाट निर्माण भएका थिए । तर ग्रेड वृद्धि परीक्षाका लागि भने विद्यालय आफैले प्रश्न निर्माण गर्नुपर्ने छ ।
कुश्मा नगरपालिकाले कक्षा ८ सञ्चालन गरिरहेका विद्यालयहरूलाई नै परीक्षा केन्द्रका रूपमा राख्दै आएको छ । तर आगामी शैक्षिक सत्रबाट भने ‘होम सेन्टर’ कायम नगर्ने गरी परीक्षा सञ्चालन गर्ने निर्णय भएको शिक्षा अधिकृत दीपक सुवेदीले बताए । विद्यार्थीहरूको वास्तविक सिकाई स्तरको बारेमा थाहा पाउन तथा अध्ययनप्रति विद्यार्थीको लगाव बढाउन ‘होम सेन्टर’ नरहने गरी परीक्षा सञ्चालन गर्ने गरी समितिले निर्णय गरेको उनको भनाइ छ ।




